सुदूरपश्चिम प्रदेशका २७ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण परीक्षण
सुदूरपश्चिम प्रदेशका २७ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण परीक्षण गरिएको छ। प्रदेशमा कोरोना परीक्षणका लागि फागुन १ गतेदेखि नमुना संकलन सुरु भएकोमा हालसम्म दुवै विधिबाट २७ हजार जनाको कोरोना परीक्षण गरिएको हो।
शुक्रबारसम्म पिसिआर विधिबाट ५ हजार ३ सय ७९ जनाको र २१ हजार ६ सय २१ जनाको ¥यापिड टेस्ट गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। तीन सय ३६ जनाको पिसिआर रिपोर्ट आउन बाँकी छ।
पिसिआर प्रविधिबाट परीक्षण गरिएकामध्ये हालसम्म यहाँका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पुष्टि भएकामध्ये पाँच जना निको भएर घर गएका छन् भने १६ जना यहाँका विभिन्न अस्पतालमा उपचारत छन्।
कोभिड–१९ लाई जित्दै अस्पतालबाट घर फर्किनेमा तीन पुरुष र दुई महिला छन्। घर फर्किने चार कैलालीका हुन् भने अर्का एक कञ्चनपुरका हुन्। हालसम्म आरडिटी गरिएकामध्ये ९५ जनामा पोजेटिभ देखिएको छ। जसमा ७० जनाको पिसिआर नेगेटिभ देखिएको जनाइएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार २५ जनाको पिसिआर परीक्षणको क्रममा रहेको छ। श्रोत थाहाखबर



