३१ जेष्ठ २०८१, बिहीबार

कोरोना भाइरस (कोभिड–१९) को प्रतिकार्यमा दैनिक ३० लाखका दरले खर्च

एसीपी संवाददाता

२१ जेष्ठ २०७७, बुधबार ०६:०८ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश सरकारले तीन महिनाको अवधीमा स्वास्थ्य संस्थामा मात्र दैनिक ३० लाखका दरले खर्च गरेको छ ।

कर्णाली प्रदेशकातर्फबाट गएको फागुन ९ गते सामाजिक विकास मन्त्रालयमा भएको मन्त्रालयस्तरिय बैठकदेखि सोमबारसम्मको खर्च विवरण अनुसार प्रदेशको स्वास्थ्यको समेत जिम्मा लिएको सामाजिक विकास मन्त्रालयले प्रदेशका अस्पताल र जिल्लाका जनस्वास्थ्य कार्यालयमार्फत मात्रै उक्त खर्च गरेको हो । स्वास्थ्य सामाग्री व्यवस्थापन, औषधी खरिद, आइसुलेसन बेड तयार लगायतका शिर्षकमा प्रदेशले अस्पतलमार्फत मात्रै दुई चरणमा गरेर झण्डै २२ करोड रकम खर्चिएको सामाजिक विकास मन्त्रालय स्रोतले जनाएको छ ।

विश्वलाई आक्रन्त पार्ने गरी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र पुर्व तयारीका बारेमा फागुन ९ गते यता मात्रै स्वास्थ्यको समेत जिम्मा लिएको सामाजिक विकास मन्त्रालयले उक्त रकम खर्चिएको हो । प्रदेशका दशवटा जिल्लामा भएका जिल्ला अस्पताल, जुम्लामा भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत स्थित प्रदेश अस्पताल, रुकुमपश्चिमको सामुदायिक अस्पताल र स्वास्थ्य सेवा निर्देशनालयमार्फत मन्त्रालयले विभिन्न शिर्षकमा उक्त रकम खर्च गरेको हो ।

कर्णाली प्रदेशमा कोरोनाको प्रतिकार्यका विषयमा भएको खर्चएका बारेमा सोधिएको जिज्ञासामा सामाजिक विकास मन्त्री दल रावलले कोभिड–१९ को प्रतिकार्य योजना निर्माण गर्न फागुन ९ गते बसेको मन्त्रालय स्तरिय बैठकदेखि अहिलेसम्म स्वास्थ्य क्षेत्रमा मात्रै उक्त रकम खर्च भएको बताए ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन र जिल्लामा भएका स्वास्थ्य संस्थाको क्षमता बिस्तार गर्ने गरी उक्त रकम खर्च भएको बताइएको छ ।
मन्त्रालय स्रोतका अनुसार पहिलो चरणमा सामाजिक विकास मन्त्रालयमार्फत १२ लाख ५० हजार, स्वास्य सेवा निर्देशनालयमार्फत १ करोड ७० लाख, प्रदेश अस्पताल सुर्खेतमार्फत ६२ लाख, जनस्वास्थ्य कार्यालय सुर्खेतमार्फत ६९ लाख रकम खर्च भएको छ ।

त्यसैगरी, जनस्वास्थ्य कार्यालय सल्यानमार्फत ४१ लाख, रुकुमपश्चिममार्फत २७ लाख, जाजरकोटमार्फत २८ लाख, दैलेखमार्फत २९ लाख ५० हजार, कालिकोटमार्फत २५ लाख रकम खर्च गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लामार्फत१५ लाख, हुम्लामार्फत २५ लाख, मुगुमार्फत २७ लाख, डोल्पामार्फत २५ लाख रकम खर्च भएको छ । मन्त्रालयले मेहलकुना अस्पताल सुर्खेतमार्फत ४२ लाख, प्रदेश आर्युवेद अस्पतालमार्फत २ लाख रकम खर्च गरिएको छ ।

प्रदेश स्रकारले कोरोनालाई केन्द्रित बनाएर स्थापना गरेको प्रदेश स्तरिय कोरोना भाइरस राहत कोषमार्फत प्रदेश अस्पताललाई १ करोड रकम थप खर्च भएको छ । यसैगरी संघीय सरकारमार्फत गएको रकम सुर्खेतमा १ करोड, दैलेखमा १ करोड, जाजरकोटमा १ करोड, कालीकोटमा १ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामार्फत १ करोड ७६ लाख र चौरजहारी सामुदायिक अस्पतालमार्फत १ करोड गरेर कूल १६ करोड २५ लाख रकम खर्च भएको छ ।

पछिल्लो समय कोरोनाको संक्रमण निकै बढ्दै गएपछि आइसुलेसन निर्माण गर्नका लागि सोमबार प्रदेश सरकारको मन्त्री परिषद् बैठकको निर्णयले विभिन्न ७ जिल्लाका २४ स्थानका लागि ४ करोड ७५ लाख ६५ हजार रकम खर्च गर्ने निर्णय भएको छ ।

योसँगै कोरोनाको पूर्वतयारी तथा प्रतिकार्यमा मात्रै प्रदेश सरकारले स्वास्थ्य संस्थामार्फत २१ करोड रकम खर्च गर्ने भएको हो ।

यसमा प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय बाहेकका मन्त्रालय र क्षेत्रबाट भएको खर्च समावेश भएको छैन । लकडाउनको समयमा नेपालका विभिन्न शहर र भारत लगायतका देशबाट आएका नागरिककको उद्धार तथा राहत वितरण र क्वारेण्टिनमा समेत प्रदेश सरकारले विभिन्न निकायबाट मोटो रकम खर्च गरेको छ ।

प्रारम्भीक चरणमा कर्णाली सुरक्षित देखिएपनि गएको जेठ ५ गते दैलेख जिल्लाको आठविसकोट नगरपालिका–१, साततलाका ३५ वर्षीय युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । कोरोना संक्रमणका हिसाबले पछिल्लो समय रेड जोनका रुपमा बिस्तारित हुँदै गएको कर्णालीमा १६ दिनकै अवधीमा २३३ जनामा कोरोना संक्रमण देखिएको छ । भने फागुन १७ भारतको गुजरातबाट १० दिनअघि नेपाल आएका दैलेखको दुल्लु नगरपालिकाका एक युवकको कोरोना संक्रमणबाट गएको शनिबार मृत्यु भएको छ । सभार नेपालबोट समाचार बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x