सुविधायुक्त आइसोलेसन केन्द्र संचालनमा आउँदै

नेपालगन्जमा आजदेखि सुविधायुक्त आइसोलेसन केन्द्र संचालनमा आउँदैछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० आदर्शनगरस्थित नेपाल औद्योगिक विकास निगम(एनआइडिसी) को भवनमा सुविधायुक्त आइसोलेसन केन्द्र संचालनमा ल्याउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो।
कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरको मातहत रहने गरी प्रदेश ५ मै पहिलोपटक यस्तो खालको आइसोलेसन संचालनमा आउन लागेको बताइएको छ । अन कल डाक्टर, स्वास्थ्यकर्मी, ल्याव सेवा, वाईफाई, टेलिभिजन, योगा लगायतको सुविधासहित आइसोलेसन संचालनमा आउन लागेको श्रेष्ठले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आजदेखि संचालन हुने आइसोलेसनको निरिक्षण गर्नुभएको छ । त्यसक्रममा उहाँले अधिकतम् सुविधा हुने गरी नमुना आइसोलेसन बनाउन लागिपरेको बताउनुभयो । वरपरको सरसफाईदेखि सबै कुराको उपयुुक्त ब्यवस्थापन गर्न उहाँले निर्देशन समेत दिनुभयो । यहाँ ३५ बेडको आइसोलेसन बन्ने प्रजिअ कुरुम्बाङले जानकारी दिनुभयो ।
आजै साँझसम्म आइसोलेसन तयार गरी जानकीको जोगागाउँमा बसेका संक्रमितलाई यहाँ ल्याउने तयारी गरिएको कुरुम्बाङले बताउनुभयो ।



