युनेस्को क्लवको आयोजना, उपमहानगरपालिकाको समन्वय तथा प्लान नेपालको आर्थिक सहयोग तयारी खाना वितरण


भारतबाट नेपाल भित्रिनेहरुलाई लक्षित गरी नेपालगन्जको जमूनाह नाकामा तयारी खाना वितरण सुरु गरिएको छ ।
बाँके युनेस्को क्लवको आयोजना, नेपालगन्ज उपमहानगरपालिकाको समन्वय तथा प्लान नेपालको आर्थिक सहयोगमा विहीबारदेखि नाकामा तयारी खाना वितरण सुरु गरिएको हो । भारतबाट आउने नेपालीहरु केही राहत होस् भन्ने उद्देश्यले तयारी खाना वितरण सुरु गरिएको बाँके युनेस्को क्लवका अध्यक्ष राजेन्द्र चौधरीले जानकारी दिनुभयो ।
नाकाबाट भित्रिने करिव ३० हजारलाई तयारी खाना वितरणको योजना छ । सामाजिक दूरी कायम गरी खाना वितरण गरिने चौधरीले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले सामाग्री बितरण गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । त्यसैगरि प्रदेश सभासद कृष्णा केसी नमूना, बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक बीरबहादुर ओली, प्लान नेपालकी एरिया म्यानेजर मीना पराजुली लगायतले समेत सामाग्री बितरण गर्नुभएको थियो ।
बितरण कार्यक्रमकमा युनेस्कोका निर्देशक रबि तुलाधर, गुलाम गौस, बेदप्रसाद पंगाली, स्वेता गुरुङ्ग, साहिल अन्सारीको उपस्थिति रहेको थियो । यसअघि मेडिकल कलेज नेपालगन्जले पनि उक्त नाका भएर भित्र्ने नेपालीहरुलाई खाजा र पानी वितरण गरेको थियो । कलेजका सहायक निर्देशक नितेश कनोडियाका अनुसार करिव एक हप्ताको अवधिमा १७ हजारलाई खाजा र पानी वितरण गरिएको थियो ।