जनसहभागितामा पीसीआर मेसिन स्थापना डडेल्धुरामा पीसीआर स्थापनाका लागि सुदूरपश्चिम समाज अमेरिकाद्धारा १४६६० डलर सहयोग

धनगढी, २१ असार ।
सुदूर पश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका १७ लाख ६० हजार दुई रुपैया सहयोग गरेको छ ।
ह्युमानिटी फाउण्डेसन नेपाल र सुदूर पश्चिम समाज अमेरिकाद्धारा डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि अमेरिकामा थालिएको सहयोग संकलन अभियानका क्रममा भएको १४ हजार छ सय ६० डलर ( १७ लाख ६० हजार दुई रुपैया ) जम्मा भएको थियो । सोही रकम समाजले पीसीआर मेसिन स्थापनाका लागि सहयोग गरेको हो ।
सुदूर पश्चिम समाज अमेरिकाका बरिष्ठ उपाध्यक्ष राम बहादुर देउवाको संयोजकत्वमा गठित समितिले अमेरिकाका बिभिन्न राज्यमा रहेका सुदूर पश्चिम समाज र सुदूरपश्चिमेली अगुवाहरुसंग आर्थिक सहयोग संकलन गरेको थियो । अभियानमा अमेरिकामा रहेका सुदूर पश्चिमेलीहरुले स्वस्फूर्त रुपमा सहयोग गरेका थिए ।

पाँच सदस्यीय समितिमा समाजका अध्यक्ष गणेश बिष्ट, महासचिब जीवन बम, सचिब रैभान महरा, र सह कोषाध्यक्ष तारा धामी सदस्यीय रहेकी थिईन । सोही समितिको सक्रियता र पहलमा अमेरिकामा आर्थिक सहयोग संकलन भएको हो । अभियानलाई सफल पार्न अहोरात्र खटिएका समाजका कोषाध्यक्ष नविन ओझा,उपाध्यक्ष दान सिंह बिष्ट र सल्लाहाकार समिति सदस्य ममता जोशी प्रति पनि समाजले आभार प्रकट गरेको छ ।

समाजका अनुसारमा आर्थिक संकलन अभियानमा सुदूर पश्चिम समाज अमेरिका न्युयोर्कको तर्फबाट आठ हजार दुई सय ६५ डलर, गौरा समाज विस्कोन्सिनको तर्फबाट दुई हजार तीन सय ४५ डलर, अन्तर्राष्ट्रिय सुदुर पश्चिम समाज अमेरिकाका सहसंयोजक दिपेन्द्र जोशीको पहलमा टेक्सासबाट दुई हजार छ सय २३ डलर, सुदूर पश्चिम समाज मेरिल्यान्डकोतर्फबाट एक हजार डलर सुदूर पश्चिम समाज कनेक्टिकटका तर्फबाट चार सय २७ डलर गरी १४ हजार छ सय ६० डलर संकलन भएको थियो ।

समितिले आर्थिक संकलन अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ ।



