१३ जेष्ठ २०८३, बुधबार

उपप्रमुख मगर द्धारा एकीकृत सम्पत्ति करमा कटौती गर्ने प्रस्ताव

एसीपी संवाददाता

२५ असार २०७७, बिहीबार १५:०७ मा प्रकाशित

फाइल / तस्बिर

नेपालगञ्ज उप–महानगरपालिकाले एकीकृत सम्पत्ति करमा १५ प्रतिशत कम गरेको छ । नगरप्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा असार १० गतेदेखि जारी सातौं नगरसभामा बिहिवार उपप्रमुख उमा थापा मगरले एकीकृत सम्पत्ति करमा कटौती गर्ने प्रस्ताव गर्नुभएको हो । उप–प्रमुख मगरले यसअघि प्रस्तुत गर्नुभएको आगामी आर्थिकवर्ष २०७७÷७८ को विनियोजित बजेट परिमार्जन गर्दै एक अर्ब ४९ करोड ४२ लाख १७ हजार ५१० रुपियाको संशोधित वजेट प्रस्तुत गर्नुभयो । बजेटमा नगरका २३ वटा वडालाई २१ करोड रुपिया विनियोजन गरिएको छ । वडाबाट संकलन भएको राजश्वको १५ प्रतिशत सम्वद्ध वडालाई बाँडफाँड गरिएको छ । वडाको जनसंख्याको आधारमा समेत बजेट सिलिङ गरिएको छ । यसरी बजेट सिलिङ अनुसार वडा नम्बर १८ लाई सबैभन्दा बढि एक करोड ४३ लाख रुपिया र सबैभन्दा कम वजेट सिलिङ्ग पाउने वडाले कम्तिमा ५४ लाख रुपिया प्राप्त गरेका छन् । नगरसभामा नगर प्रमुख डा. राणाले सन्तुलितढंगले वडामा वजेटको सिलिङ तयार गरिएको जानकारी दिनुभयो । बजेट कनिका छरेजस्तो गरि वडामा काम नगर्न सुझाव दिदैं नगरप्रमुख राणाले वडाका जनप्रतिनिधीहरुलाई देखिने गरि ठुला काम गर्न आग्रह गर्न आग्रह गर्नुभयो । ठुला योजनाले वजेटको सहि सदुपयोग हुने उहाँको भनाई थियो । नगरसभामा वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर २ का वडा अध्यक्ष सुनीलसिंह हमाल, वडा नम्बर १८ का वडा अध्यक्ष दीपक वर्मा, वडा नम्बर १३ का अध्यक्ष बिरेन्द्र बहादुर शाह लगायतले विभिन्न सुझाव दिनुभएको थियो । बिहिवारको नगरसभाले बजेटको सिलिङलाई सर्वसम्मत पारित गरेको छ । असार ३० गते बस्ने बैठकले वडाबाट आउने योजनासहित बजेट पारित गर्ने भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x