आज १३ औं दिनः स्वाब संकलन ।


जेष्ठ ११, बाँके । डुडुवा गाउँपालिका वडा नं.३ बनकट्टी माध्यमिक बिद्यालयमा १३ दिन देखि क्वारेन्टाईनमा बसेका १०१ जना ब्यक्तिहरु मध्ये ३० जनाको स्वाब संकलन गरिएको छ ।
बैशाख ३० गते भारतको मुम्बई, दिल्ली लगायत बिभिन्न ठाउँबाट आएका डुडुवा गाउँपालिकाका ब्यक्तिहरुलाई बिना पूर्व तयारी डुडुवा ३ बनकट्टीमा स्थित बनकट्टी माध्यमिक बिद्यालयलाई आकस्मिक रुपमा क्वारेन्टाईनमा परिणत गरि ११९ जनालाई राखिएको हो । पछि केही ब्यक्तिलाई अन्य ठाउँमा सारे तापनि थपने क्रम जारीरहेको हुनाले हाल उक्त क्वारेटाईनमा डुडुवा वडा नं.१,२,३ र ५ का जम्मा १०१ जना ब्यक्तिलाई राखिएको स्वास्थ्य सहायक रिजवान अहमद खाँले बताउनु भएको छ । जस मध्ये केही ब्यक्तिहरु १३ दिन, केही ११ दिन, केही ९ दिन र केही ब्यक्तिहरु आएको ७ दिन पुगेको छ । क्वारेन्टाईनमा क्षमता भन्दा बढी ब्यक्तिहरुलाई राखिएकोले ब्यवस्थापन गर्न गाह्रो परे पनि आफनो कत्र्तब्य र दायित्वको निवार्ह गर्दै नियमानुसार स्वास्थय सेवा उपलब्ध गराउंदै आएको कुरा खाँले बताएका हुन । उक्त क्वारेन्टाईनमा १४ वटा कोठाहरुलाई क्वारेन्टाईनमा परिणत गरि प्रत्येक कोठामा ७ देखि ९ जना सम्म राखिएको छ र प्रत्येक कोठाबाट २÷३ जनाको स्वाब संकलन गरिएको साथै क्वारेन्टाईनमा डुडुवा गाउँपालिका अध्यक्ष र वडा नं.३ का अध्यक्षले आवश्यक सम्पूर्ण कुराको सहयोग गरि सकेसम्म क्वारेन्टाईन संचालन तथा ब्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ ले निदिष्ट गरेको न्यूनतम पुर्वाधारको ब्यवस्थापन गर्न मद्दत गर्नु भएको कुरा खाँले बताउनुका साथै स्वाब संकलन समयमा नभएको गुनासो गर्नु भएको छ । आईसोलेशन पूर्व तयारीका लागि डुडुवा ४ स्थित आधारभूत बिद्यालय सहपुर्वामा २१ वटा बेडहरु तयारी अवस्थामा रहेको बताएका छन ।
साथै डुडुवा ३ का वडा अध्यक्ष भण्डारीलाल यादवले गाउँपालिकाले संकलन गरेको पारिवारिक तथ्याँक उपलब्ध नगराएकोले कति ब्यक्तिहरु बाहिर रहेकाछन भन्ने कुरा थाह नभएको र अझै बिदेशबाट ब्यक्तिहरु आउने क्रम जारी रहेको हुनाले ब्यवस्थापन गर्न समस्या भई रहेको कुरामा जोड दिनुका साथै क्वारेन्टाईनमा रहेका ब्यक्तिहरुलाई सके सम्म कुनै पनि समस्या हुन नदिने कुरा ब्यक्त गर्नु भएको ।
क्वारेन्टाईनमा बसेका ब्यक्तिहरुले क्वारेन्टाईनमा खाने, बस्ने, स्वास्थ्य उपचारका साथै कुनै पनि समस्या नरहेको भन्दै मात्र घर जान नपाएको भनि दुःख ब्यक्त गरेका छन । मुस्लिम समुदायका ब्यक्तिहरुले क्वारेन्टाईन मै बसी ईद कसरी मनाउने भन्ने कुरामा चिन्तित देखिएका छन ।



