अपलिफ्ट परियोजना अन्तर्गत युवाहरूका लागि १२ दिने कार्यात्मक साक्षरता तथा गणितीय सीप सत्र सम्पन्न
बाँके — सामाजिक विकास मञ्च (SDF) बाँकेद्वारा सञ्चालित तथा सेभ द चिल्ड्रेन (Save the Children) को साझेदारीमा कार्यान्वयन भइरहेको अपलिफ्ट (UPLIFT) परियोजना अन्तर्गत १२ दिने कार्यात्मक साक्षरता, संख्यात्मक तथा गणितीय सीप (FLN) सम्बन्धी १२ वटा सत्रको समापन कार्यक्रम सम्पन्न भएको छ।
युवाहरूको आधारभूत साक्षरता, दैनिक जीवनमा आवश्यक पर्ने संख्यात्मक तथा गणितीय सीप र व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले उक्त १२ दिने सत्र सञ्चालन गरिएको हो। तालिममा १४ जना युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
सामाजिक विकास मञ्चका अपलिफ्ट परियोजना फोकल पर्सन घनश्याम उपाध्यायको प्रमुख उपस्थितिमा सम्पन्न उक्त समापन कार्यक्रममा संस्थाका अनुगमन तथा मूल्याङ्कन (MEAL) अधिकृत शान्त चौधरी र परियोजना अधिकृत बृजेश ठाकुर लगायतको उपस्थिति रहेको थियो।
समापन समारोहमा बोल्दै फोकल पर्सन घनश्याम उपाध्यायले १२ दिने सत्रबाट सिकेका आधारभूत साक्षरता तथा गणितीय सीपलाई आफ्नो दैनिक जीवन, पारिवारिक हिसाबकिताब र भावी उद्यमशीलतामा व्यवहारिक रूपमा लागू गर्न सहभागी युवाहरूलाई आग्रह गर्नुभयो। साथै, परियोजनाले युवाहरूको क्षमता विकास र आत्मनिर्भरताका लागि निरन्तर सहजीकरण गरिरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा १२ वटा सत्र सफलतापूर्वक पूरा गर्ने १४ जना सहभागी युवाहरूलाई प्रमुख अतिथि तथा उपस्थित अतिथिहरूद्वारा प्रमाणपत्र वितरण गरिएको थियो।



