अमेरिकी अर्थमन्त्री यसै साता चीन भ्रमणमा निस्कने
अमेरिकी अर्थमन्त्रालयका अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले गत जुनमा बेइजिङमा चीनका शीर्ष नेता सी चिनपिङ र विदेशमन्त्री किन गाङसँग भेटवार्ता गरेको केही हप्तापछि येलेनको जुलाई ६ देखि ९ सम्मको भ्रमण हुन लागेको हो ।
“वासिङ्टनले बेइजिङसँगको ‘स्वस्थ’ सम्बन्धलाई पनि हेर्छ र जलवायु परिवर्तन र कर्जा संकटजस्ता अत्यावश्यक चुनौतीहरूमा सहकार्य गर्दै अर्थतन्त्रलाई कमजोर बनाउन चाहँदैन,” ती अधिकारीले भने । “संयुक्तराज्य अमेरिकाले यस प्रारम्भिक यात्राबाट ‘महत्वपूर्ण सफलता’ को अपेक्षा गर्दैन, तर यसले चीनसँग सञ्चारको दीर्घकालीन च्यानलहरू निर्माण गर्ने लक्ष्य राखेको छ,” अमेरिकी अर्थमन्त्रालयका अर्का एक वरिष्ठ कर्मचारीले भने ।
‘काउन्सिल अन फरेन रिलेसन्स (सीएफआर)’ का वरिष्ठ सदस्य एडवर्ड एल्डेनले एएफपीसँग भने, “मलाई लाग्छ कि अमेरिकी सरकारले स्पष्ट रूपमा आर्थिक सम्बन्धको बिग्रँदो अवस्थालाई कम गर्न प्रयास गरिरहेको छ । येलेनको यात्राले ‘तल्लो स्तरमा वार्ता र छलफलको स्थिर ढाँचा पुनः सुरु गर्न सक्छ,” उनले भने । “पछिल्लो समय अमेरिकाले समस्यालाई कसरी समाधान दिने भन्नेतिर भन्दा जोखिम कम गर्ने अस्पष्ट रणनीतिलाई अपनाएको देखिन्छ,” उनकाे भनाइ छ ।
एल्डेनले भने, “यसको अर्थ रणनीतिक महत्व भएका वस्तुहरूको संकुचित दायरामा ध्यान केन्द्रित गर्नु हो, ती वस्तुहरूको वरिपरि तारबार निर्माण गर्ने प्रयास गर्नु हो । तर अमेरिका–चीन आर्थिक सम्बन्धलाई उचित रूपमा बलियो बनाउन जारी राख्ने प्रयास गर्नु उचित हो ।” तर पर्यवेक्षकहरूले दुई सिद्धान्त र परिवेशबाट अघि बढिरहेका दुई ठूला अर्थतन्त्र भएका मुलुकका जिम्मेवार अधिकारीको भ्रमणले तनावको शीघ्र समाधान दिनेमा खासै आशा नगरेको देखिन्छ ।


