अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्धक मामिलामा अन्तिम चेतावनी
अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई बन्धक मामिलामा अन्तिम चेतावनी दिएका छन्। हमासले बन्धकहरूको रिहाइ नगरे ठूलो क्षति व्यहोर्र्ने उनको कडा चेतावनी छ।
सामाजिक सञ्जालमार्फत कडा सन्देश दिँदै ट्रम्पले लेखेका छन्, “म इजरायललाई आवश्यक सबै सहयोग पठाइरहेको छु। यदि हमासले मेरो कुरा सुनेन भने, उनीहरूका एक जना पनि सुरक्षित रहने छैनन्।”
ट्रम्पको यो धम्की ह्वाइट हाउसले हमाससँग बन्धकको रिहाइबारे प्रत्यक्ष वार्ता गरिरहेको पुष्टि गरेको केही घण्टापछि आएको हो। उनले स्पष्ट शब्दमा भनेका छन्, “सबै बन्धकहरूलाई अहिले नै रिहा गर, ढिलो नगर। मारिएका बन्धकहरूको शव तुरुन्तै फिर्ता गर। नत्र, खेल समाप्त हुनेछ।”
ट्रम्पले गाजाका सर्वसाधारणलाई हमासको समर्थन नगर्न आग्रह गर्दै भने, “तिमीहरूको सुन्दर भविष्य पर्खिरहेको छ, तर त्यसका लागि हमासको संरक्षण नगर्नू।”
उनको यो कडा चेतावनी ह्वाइट हाउसमा युद्धविराम अन्तर्गत रिहा गरिएका इजरायली बन्धकहरूको समूहलाई भेटेपछि आएको हो। अब हमासले ट्रम्पको चेतावनीलाई कसरी लिन्छ भन्ने अन्तर्राष्ट्रिय कूटनीतिमा चासोको विषय बनेको छ।



