१५ भाद्र २०८३, सोमबार

आफ्नै प्रेमिकाको हत्या गर्ने पक्राउ

एसीपी संवाददाता

७ श्रावण २०८२, मंगलवार ०९:३४ मा प्रकाशित

आफ्नै प्रेमिकाको हत्या गरी जंगलमा फालिएको जघन्य घटनामा संलग्न अभियुक्त पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले घटनामा संलग्न ३७ वर्षीय सन्तोष सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। शव भेटिएको २४ घण्टाभित्र अभियुक्त पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो।
आइतबार दिउँसो करिब २ बजेतिर बनेपा नगरपालिका–१३ भगवान थुम्कीस्थित सामुदायिक जंगलमा चिलाउने रुखको फेदमा कोल्टो अवस्थामा एक महिलाको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा उक्त शव चौरीदेउराली गाउँपालिका–१ डाँडाखर्ककी ३३ वर्षीया शर्मिला उप्रेतीको रहेको खुलेको हो। उनी हाल बनेपा–९ नयाँबस्तीमा बस्दै आएकी थिइन्।
मृतकका बुबा कमलबहादुर उप्रेतीले शवको सनाखत गरेका थिए। उनका अनुसार शर्मिला साउन २ गतेदेखि सम्पर्कविहीन थिइन्। शव भेटिएपछि घटनाको प्रकृति शंकास्पद देखिएको भन्दै इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोली र धुलिखेल अस्पतालको फरेन्सिक चिकित्सकको टोली परिचालित गरिएको थियो।
गहिरो अनुसन्धानपछि घटनामा संलग्न रहेको ठहर गर्दै रामेछापको मन्थली नगरपालिका–१३ निवासी सुनारलाई बनेपा–१० स्थित एक इँट्टा भट्टामा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई जिल्ला अदालत काभ्रेबाट चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार शर्मिला र सन्तोषबीच प्रेम सम्बन्ध थियो र सोही सम्बन्धका कारण हत्या भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाको थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
प्रहरीले घटनाबारे सम्पूर्ण विवरण संकलन गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ। यस घटनाले प्रेम सम्बन्धका नाममा बढ्दो अपराधप्रति गम्भीर चिन्ता उत्पन्न गराएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x