आमरण अनशन सफल भएपछि राष्ट्रिय एकता दलद्वारा समर्थक, राजनीतिक दल, मानव अधिकारकर्मी र स्वास्थ्यकर्मीप्रति आभार
काठमाडौं, २७ साउन। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज घटनाका पीडितलाई न्याय, मृतकलाई शहीद घोषणा, घाइतेको उपचार, निष्पक्ष छानबिनलगायतका माग राख्दै राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले काठमाडौंको माइतीघर मण्डलामा गर्नुभएको आमरण अनशन सरकारसँग लिखित सहमति भएपछि स्थगित भएको छ।
अनशन स्थगित भएपछि राष्ट्रिय एकता दलले एक विज्ञप्ति जारी गर्दै आन्दोलनलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, समर्थन र ऐक्यबद्धता जनाउने राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, धार्मिक व्यक्तित्व, मानव अधिकारकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा आम नागरिकप्रति हार्दिक आभार व्यक्त गरेको छ।
दलले आमरण अनशनलाई आफ्नो पार्टीको मात्र कार्यक्रम नभई न्याय, सुरक्षा र पीडितको पक्षमा उठेको नागरिक आवाजका रूपमा स्थापित गर्न सहयोग पुगेको जनाएको छ।
राजनीतिक तथा सामाजिक व्यक्तित्वप्रति विशेष धन्यवाद
राष्ट्रिय एकता दलले अनशनस्थलमा पुगेर अध्यक्ष यादवको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आन्दोलनप्रति ऐक्यबद्धता जनाउने राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनता समाजवादी पार्टीका नेता राजकिशोर यादव, नेकपाका नेता तथा पूर्वमन्त्री महेन्द्र राय यादव, प्रस्तावित जय नेपाल पार्टीका अध्यक्ष धवलशमशेर जबरा, सामाजिक तथा राजनीतिक अभियन्ता बुद्ध छिरिङ मोक्तान, जन अधिकार पार्टीका अध्यक्ष डा. शरदसिंह यादव, संविधानसभा सदस्य विमल केडिया र राष्ट्रिय मधेसी आयोगका अध्यक्ष विनय दत्तलगायतप्रति विशेष धन्यवाद व्यक्त गरेको छ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्बु ओलीले प्रतिनिधिसभामा आमरण अनशनको विषय उठाउँदै सरकारलाई आन्दोलनरत पक्षसँग संवाद गरी माग सम्बोधन गर्न आग्रह गरेकोमा दलले आभार व्यक्त गरेको छ।
सन्त समाजबाट पूजनीय चिन्तामणि योगी, पुष्पराज पुरुष, रामकृष्ण उपाध्यायलगायतले अनशनस्थलमै पुगेर समर्थन तथा सहयोग गरेकोमा पनि राष्ट्रिय एकता दलले धन्यवाद दिएको छ।
नेपाली कांग्रेसको सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानका संयोजक शंकर भण्डारीले जारी गरेको प्रेस वक्तव्यप्रति पनि दलले विशेष आभार प्रकट गरेको छ। त्यस्तै, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले अनशनप्रति समर्थन जनाउँदै सरकारलाई संवाद र माग सम्बोधनका लागि आग्रह गरेकोमा धन्यवाद दिइएको छ।
मानव अधिकार आयोग र स्वास्थ्यकर्मीप्रति आभार
आमरण अनशनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगले माइतीघरस्थित अनशनस्थलमा पुगेर अध्यक्ष यादवको स्वास्थ्य अवस्था तथा उपचार व्यवस्थाको स्थलगत अनुगमन गरेकोमा राष्ट्रिय एकता दलले आयोगप्रति विशेष सम्मान व्यक्त गरेको छ।
लामो समयको अनशनका कारण स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै आयोगले जीवनरक्षा, प्रभावकारी स्वास्थ्य उपचार तथा वार्तामार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको विषयलाई दलले महत्वपूर्ण पहलका रूपमा लिएको जनाएको छ।
त्यसैगरी, अनशन सुरु भएदेखि नै काठमाडौं मेडिकलका स्वास्थ्यकर्मीहरूले अनशनस्थलमा पुगेर अध्यक्ष यादवको नियमित स्वास्थ्य परीक्षण तथा निगरानीमा सहयोग गरेकोमा काठमाडौं मेडिकलसहित सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति पनि दलले कृतज्ञता व्यक्त गरेको छ।
सञ्चारमाध्यम र स्वयंसेवकको भूमिकाको प्रशंसा
दलले अनशनका क्रममा विभिन्न राजनीतिक दल, सामाजिक संस्था, धार्मिक अभियन्ता, नागरिक समाज, सञ्चारकर्मी तथा शुभेच्छुकहरूले प्रत्यक्ष रूपमा उपस्थित भएर ऐक्यबद्धता जनाएको उल्लेख गरेको छ।
घाम, वर्षा र प्रतिकूल मौसमको समेत प्रवाह नगरी अनशनस्थलमा दिनरात खटिएका स्वयंसेवक, व्यवस्थापन टोली र सहयोगीप्रति पनि दलले विशेष धन्यवाद दिएको छ।
समाचार, अन्तर्वार्ता, रिपोर्ट तथा सार्वजनिक बहसमार्फत आन्दोलनका मागलाई जनतासम्म पुर्याउने सञ्चारमाध्यम तथा पत्रकारहरूको भूमिकालाई पनि राष्ट्रिय एकता दलले महत्वपूर्ण मानेको छ।
सहमतिको कार्यान्वयनमा खबरदारी गर्ने प्रतिबद्धता
राष्ट्रिय एकता दलले सरकारसँग भएको लिखित सहमतिपछि सुनसरी घटनाका मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध भएको उल्लेख गर्दै यसलाई आन्दोलनमा साथ दिने सम्पूर्ण नागरिकको सामूहिक उपलब्धि भएको जनाएको छ।
तर सहमति हुनु मात्रै आन्दोलनको अन्तिम उद्देश्य नभएको स्पष्ट पार्दै दलले सरकारसँग भएको सहमतिको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि निरन्तर खबरदारी गर्ने जनाएको छ।
पीडित परिवारले वास्तविक रूपमा न्याय, राहत र सुरक्षा अनुभूति नगरेसम्म आफ्नो चासो तथा निगरानी कायम रहने राष्ट्रिय एकता दलको भनाइ छ।
दलका केन्द्रीय अध्यक्ष विनय यादवद्वारा जारी आभार वक्तव्यमा भनिएको छ, “यो सफलता विनय यादवको मात्र सफलता होइन; न्यायको पक्षमा उभिएका तपाईं–हामी सबैको सामूहिक सफलता हो।”
वक्तव्यको अन्त्यमा दलले समर्थक तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै “तपाईंहरूको साथ हाम्रो शक्ति हो, तपाईंहरूको ऐक्यबद्धता हाम्रो ऊर्जा हो र तपाईंहरूको विश्वास हाम्रो आगामी यात्राको आधार हो” भनेको छ। 




