एकजना नेपाली हज्ज यात्रु हज्ज पूरा नगरी स्वदेश फिर्ता
काठमाडौं – एक नेपाली हज्ज यात्रु हज्जको प्रक्रिया पूरा नगरीकनै स्वदेश फर्किएका छन्। रौतहट जिल्लाको यमुनामाई गाउँपालिका वडा नं. ३ मलहनियाका ७५ वर्षीय कर्मुल्ला शेख हिजो राति एयर अरेबियाको विमानमार्फत नेपाल आइपुगेका हुन्।
शेख हज्जको प्रक्रिया शुरू नहुँदै बिरामी परेपछि हज्ज नगरी फर्कन निवेदन दिएका थिए। नेपाल हज समितिले उक्त निवेदन स्वीकृत गरी उनलाई स्वदेश फिर्ता गराउने व्यवस्था मिलाएको समितिका कार्यवाहक अध्यक्ष जबुल मियाँले जानकारी दिए।
उक्त उडानमा सँगै यात्रा गरेका यात्री लुकमान राइनले जानकारी गराएपछि मैले शेखका आफन्तजन र नेपाल हज समितिका कार्यवाहक अध्यक्ष जबुल मियाँसँग समन्वय गरेकाे थिएँ । कार्यवाहक अध्यक्षले भने, “हज्ज यात्रीलाई फिर्ता गराउने सबै प्रक्रिया पूरा गरी विमानमा चढाइएको हो र नेपालमा रहेका उनका नातेदारलाई जानकारी दिइएको छ। बिहान फोन गर्दा सम्पर्क हुन नसकेकाले उनीहरू बाटोमा रहेको हुन सक्छ । म सम्पर्क गर्ने प्रयासमा छु ।”
यात्री लुकमान राइनका अनुसार शेख अत्यन्तै विचलित अवस्थामा थिए, बिरामी थिए र सम्पूर्ण यात्राभरि रुँदै आएका थिए। उनले शेखलाई विमानस्थलका अधिकारीको जिम्मा लगाई मलाई खबर गरेका थिए।



