१२ मंसिर २०८३, शुक्रबार

कर्णाली, लुम्बिनी प्रदेशमा माओवादी सांसदहरु धमाधम एमालेतिर

एसीपी संवाददाता

३१ चैत्र २०७७, मंगलवार १३:३२ मा प्रकाशित

काठमाडौं । केन्द्रको दलको झगडाको असर प्रदेशमा पनि परेको छ । मुख्यगरी नेकपा एमाले, माओवादी केन्द्र र जसपाबिचमा केन्द्रमा भइरहेको बेमेलले प्रदेश सरकारहरु पनि धरापमा परेका छन् । कर्णाली, लुम्बिनी प्रदेशमा माओवादी सांसदहरु धमाधम एमालेतिर लागेका छन् । यस्तो बेला प्रदेश नम्बर २ को सरकार पनि धरापमा परेको छ ।

पूर्व राजपा र पूर्व समाजवादी पार्टी मिलेर बनेको प्रदेश सरकारको नेतृत्व समाजवादी पार्टीका नेता मुख्यमन्त्री लालबाबु राउतले गरिरहेका छन् । दुई पार्टी एक भएपछि जसपा बनेको छ । तर केन्द्रमा जसपाभित्र दुई धार देखिँदा त्यसको असर प्रदेशमा पनि परेको छ ।

खासगरी महन्थ ठाकुर नेतृत्वको पूर्वराजपा एमालेतिर नजिक छ भने उपेन्द्र यादव नेतृत्वको पूर्वसमाजवादी माओवादीतिर नजिक छ । यस्तोमा पूर्वसमाजवादीको नेतृत्वमा रहेको प्रदेश २ सरकार धरापमा परेको हो ।

प्रदेश २ मा एमाले र जसपाभित्र पूर्वराजपा नेता जितेन्द्र सोनलको नेतृत्वमा सरकार बनाउने तयारी प्रधानमन्त्री केपी ओलीले गरेका छन् । विगतमा सोनल मुख्यमन्त्रीकै दावेदार थिए । तर भागवण्डाका कारण उनलाई पछि पारियो । हाल प्रदेशमा भौतिक पूर्वाधार विकासमन्त्री रहेर उनले उत्कृष्ट काम गरेका छन् ।

एमालेले सोनलकै नेतृत्वमा प्रदेश २ मा गठबन्धन सरकार बनाउन लागेको हो ।

सोनल विकास निर्माणका काममा आफै अनुगमनमा जाने, ठेकेदारलाई ताकेता गर्ने, गुणस्तरीय कामका लागि खबरदारी गर्ने गरेर चर्चा रहँदै आएका छन् । उनको नेतृत्वमा विकासका क्षेत्रमा प्रदेश २ ले छोटो समयमै भए पनि केही मात्रामा काँचुली फेरेको छ ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली वर्तमान मुख्यमन्त्री लालबाबु राउतसँग रुष्ट छन् । खासगरी मधेसका मुद्दा सम्बोधनका लागि पहलकदमी लिइरहेका बेला विरामी भए भनेर काठमाडौं आई उपेन्द्र यादवको निर्देशनमा पूर्वराजपाका सांसदहरु फकाउन राउत घरघरमा पुगेर प्रधानमन्त्री ओलीलाई साथ नदिन, उपेन्द्रलाई साथ दिन भनेपछि प्रधानमन्त्री ओली रुष्ट भएका हुन् ।

उपेन्द्रकै शैलीमा ओलीलाई जसरी पनि हटाउनुपर्छ भनेर लागेका राउतले अब पद गुमाउने भएका हुन् ।

अर्कोतिर विकासलाई रफ्तारमा अघि लैजाने सोनल र ओलीको केमस्ट्री पनि मिलेको छ । प्रधानमन्त्रीको चाहनाअनुसार नै सोनलको सरकार बन्ने एमालेका एक उच्च नेताले बताए । केन्द्रमा महन्थ ठाकुरसँग मधेसका मुद्दाका लागि सघन वार्ता गरिरहेका ओलीले प्रदेशमा पनि महन्थकै मान्छेलाई नेतृत्व सुम्पिन लागेका हुन् ।

ओलीले खासगरी रेशम चौधरीको रिहाई, लाल आयोगको प्रतिवेदन सार्वजनिक, झुठा मुद्दा फिर्ता, संविधान संशोधनका विषयलाई अगाडि बढाइसकेका छन् । तर यसलाई भाड्न लागिपरेका उपेन्द्र यादवलाई साथ दिएपछि लालबाबु राउत अफ्ठेरोमा परेका हुन् । उपेन्द्र यादवले मधेसका मुद्दा सम्बोधन हुन नदिने, वार्ता भाड्ने, आफ्नो सरकार ढाल्न हात धोएर लागेको भन्दै ओली रुष्ट छन् ।

जसरी उपेन्द्र ओलीलाई हटाउन लागिपरेका छन् त्यहीँ रणनीति ओलीले उपेन्द्रमाथि अपनाएका छन् ।

सोनलको नेतृत्वमा सरकार बनाउन महन्थ ठाकुर पनि सकारात्मक रहेको जसपा स्रोतले बतायो । एमाले र जसपाबिच मन्त्रालय बाँडफाँड तथा को को लाई समावेश गराउने भन्ने टुंगो लागेपछि नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ हुनेछ ।

नयाँ सरकार परिवर्तनका लागि प्रधानमन्त्री निकट युवा नेता महेश बस्नेतले समन्वय गरिरहेका छन् । प्रधानमन्त्रीले उनलाई जिम्मेवारी दिएका छन् । सांसदहरु मिलाउन, सबै कुरा व्यवस्थापन गर्न उनी सांसदहरुको चाहना, आवश्यकता बुझ्न निरन्तर सम्पर्कमा रहेको जसपाका एक सांसदले जानकारी दिए । अब महिना दिनभित्र नयाँ सरकार बनिसक्ने नेताहरु बताउँछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x