केपि ओलिले माफी मागेर आए स्वागत गर्छौं-दाहाल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही स्वरुप अध्यक्ष पदबाट हटाइएको बताएका छन् । केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले प्रचण्डले ओली सच्चिएर आए फेरि पनि पार्टीमा स्वागत गर्न तयार रहेको बताए ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पुस ५ गतेकै पार्टी स्थायी समिति बैठकले उनलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो । सोही प्रस्तावमाथिको प्रचण्ड–माधव नेपाल समूहको बहुमत केन्द्रीय समितिको बैठकबाट ओलीलाई अध्यक्षबाट हटाइएको घोषणा गरिएको हो ।
आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘केपी ओलीले राष्ट्र, जनता, पार्टीलाई घात भयो भनेर आउनुभयो भने हामी उहाँलाई स्वागत गर्छौं । गल्ती भयो, मैले गल्ती गरेँ, म पश्चाताप गरेर आउन तयार छु भनेर आउनुभयो भने म अहिले पनि स्वागत गर्न तयार छु ।’
प्रचण्डले मन्त्रिपरिषदको बैठकमार्फत प्रतिनिधिसभा भङ्ग गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नासाथ ओली नेतृत्वको सरकार भङ्ग भएको पनि प्रस्ट पारे ।
उनले प्रधानमन्त्रीलाई संसद भंग गर्ने कुनै अधिकार संविधानले नदिएको दावीसमेत गरे । ‘संविधानविद्ले पनि त्यो कदम असंवैधानिक र अलोकतान्त्रिक नै छ भनेका छन्,’ उनले भने, ‘विघटन भएको सरकार हो, संसद होइन भनेर हामी सर्वोच्च अदालतमा पनि जान्छौँ ।’
उनले न्यायालयप्रति आफूहरुले भरोसा गरेको र संविधानको मर्मलाई न्यायालयले आत्मसात् गरेर न्याय दिने विश्वास गरेको सुनाए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ढाँट–छल’को राजनीति गरेको आरोप लगाएका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संवैधानिक परिषद बैठकको सन्दर्भमा ओलीले आफूसहित पार्टीपंक्तिलाई ढाँटेको आरोप लगाएका हुन् ।
संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनु अघि पार्टीसँग कुनै छलफल नै नगरेका ओलीले परिषदको बैठक बसिसकेको अवस्थामा समेत आफूहरुले राखेको जिज्ञासामा ‘कुनै निर्णय नभएको’ जवाफ दिएको प्रचण्डले जिकिर गरे ।
तर संवैधानिक परिषदको बैठकले संवैधानिक अंगमा नियुक्तिको सिफारिस गरेको कुरा पछिआएर सार्वजनिक भएको उनले बताए ।
त्यसअघि ओलीसँगको छलफलमा अध्यादेश फिर्ता लिने र आफूहरुबाट संसदको विशेष अधिवेशनका लागि दिएको समावेदन फिर्ता लिने सहमति भएको पनि उनले प्रस्ट पारे । यसबीचमै संवैधानिक परिषदको बैठक बसेको खबर आएको र आफूहरुले ओलीसँग जिज्ञासा राख्दा ‘नियुक्ति भएका छैनन्’ भन्ने जवाफ पाएको प्रचण्डको भनाइ थियो ।
ओलीको कार्यशैली कम्युनिष्टसँग विल्कुल मिल्दैन
प्रचण्डले केपी शर्मा ओलीको कार्यशैली कम्युनिष्टसँग विल्कुल नमिल्ने दावी गरेका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले ओलीमा कम्युनिस्टको व्यवहार र कार्यशैली नै नरहेको बताएका हुन् । ‘उहाँमा धैर्यता छैन । बैठक बस्न पार्टीको अध्यक्षले अर्को अध्यक्षसँग अनुनय गर्नुपर्ने अवस्था एउटा कम्युनिष्टमा हुन सक्दैन,’ उनले भने ।
ओलीले पार्टीमा बहसलाई निषेध गरेको आरोप पनि प्रचण्डले लगाए । ‘बहस गर्न खोज्दा बहस गर्न पाइँदैन रे १,’ उनले भने, ‘अस्तिको सचिवालय बैठकमा उहाँ एक घण्टा बोल्नुभयो तर हामीले राखेको प्रस्तावलाई आरोपपत्र रे १ बोल्न पाइँदैन भन्नुभयो ।’
सचिवालयका सबै सदस्यहरु, यहाँसम्म कि, ओलीकै निकट मानिएका ईश्वर पोखरेलले समेत ‘बोल्न त सबैले पाइन्छ’ भनेपछि बल्ल आफूले बोल्न पाएको प्रचण्डले खुलासा गरे । उनले भने, ‘प्रवृत्ति हेर्नुस् कस्तो छ उहाँको १’ आफूले पार्टी एकतालाई बचाउन धेरै त्याग गरेको प्रचण्डको दावी थियो । आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने कुरालाई छाडेको, सरकारमा जाने कुरालाई आफूले प्राथमिकता नदिइ पार्टीको भूमिकालाई नै रोजेको उल्लेख गर्दै प्रचण्डले त्यसका बाबजुद सचिवालय बैठकमा आफ्नो कुर्सी हटाइएको, अपमान गर्न खोजिएको प्रस्ट पारे
। साभार – रातोपाटी


