कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी हुने , सावधानी अपनाउन आग्रह
काठमाडौं । देशभर मनसुनी वायु सक्रिय भइरहँदा मौसम विभागले फेरि एकपटक सावधानी अपनाउन आग्रह गरेको छ। मनसुनको न्यून चापीय रेखा नेपालका तराई भूभागसँगै सरदर स्थानको उत्तरतर्फ रहेकाले आगामी केही दिन अझ वर्षा सक्रिय रहने संकेत देखिएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित भारी वर्षा पनि मापन गरिएको छ।
दिउँसो देशभर सामान्य बदली रहनेछ। विशेषगरी कोशी, मधेश तथा बाँकी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै, गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि अत्यधिक वर्षा हुन सक्ने चेतावनी पनि दिइएको छ।
रातको समयमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य भूभागका थोरै क्षेत्रहरूमा भारी वर्षा हुने सम्भावना रहेको छ।
मौसमविद्हरूले मनसुन अझै केही दिन सक्रिय रहने भएकाले पहिरो, बाढी, डुबान र सडक अवरोध जस्ता सम्भावित जोखिमलाई ध्यानमा राखी सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन पुनः आग्रह गरेका छन्। विभागले नियमित रूपमा मौसम अपडेट लिइरहन अनुरोधसमेत गरेको छ।


