कोहलपुरको म्याक्स होटलमा प्रहरीको छापा: अनलाइन बेटिङमा संलग्न ४० भारतीयसहित ४२ जना पक्राउ
बाँके — बाँकेको कोहलपुरस्थित एक होटलमा प्रहरीले छापा मारी अनलाइन बेटिङ (जुवा) गतिविधिमा संलग्न ठूलो गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको विशेष टोलीले कोहलपुरस्थित म्याक्स होटलमा छापा हानेर ४० जना भारतीय नागरिकसहित कुल ४२ जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डीएसपी प्रतीक सिंह राठौरका अनुसार होटलभित्र गैरकानूनी रूपमा अनलाइन बेटिङ (जुवाजन्य क्रियाकलाप) भइरहेको भन्ने विशेष सुराकीको आधारमा प्रहरीले उक्त कारबाही चलाएको हो। प्रहरी टोली होटलमा पुग्दा ठूलो संख्यामा व्यक्तिहरू शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धान तथा खानतलासीका क्रममा पक्राउ परेकाहरूको साथबाट अनलाइन बेटिङमा प्रयोग हुँदै आएका आधुनिक उपकरणहरू बरामद गरिएको छ। प्रवक्ता राठौरका अनुसार घटनास्थलबाट २८ थान ल्यापटप र ७८ थान मोबाइल फोन जफत गरिएको छ। बरामद गरिएका यी उपकरणहरूबाटै अनलाइनमार्फत ठूलो कारोबार हुने गरेको आशंका गरिएको छ।
घटनालगत्तै प्रहरीले उक्त होटललाई पूर्ण रूपमा सिल गरेको छ। पक्राउ पर्नेहरूमा ४० जना भारतीय नागरिक र २ जना नेपाली नागरिक रहेका छन्। उनीहरूले कुन शैलीमा र कसको योजनामा यो नेटवर्क सञ्चालन गरिरहेका थिए भन्ने बारेमा प्रहरीले गहिरो अनुसन्धान थालेको छ।
खुला सिमानाका कारण यस किसिमका गैरकानूनी गतिविधिमा विदेशी नागरिकहरूको संलग्नता बढ्न सक्ने तर्फ सचेत रहँदै प्रहरीले यस घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ। पक्राउ परेकाहरूमाथि प्रचलित कानुन बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।


