२४ श्रावण २०८३, आईतवार

ग्यास लुकाएको आरोपमा नेपालगञ्जको ‘शंकर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोर’लाई ५० हजार जरिवाना

एसीपी संवाददाता

२४ श्रावण २०८३, आईतवार २२:०८ मा प्रकाशित

नेपालगञ्ज, २४ साउन — बजारमा खाना पकाउने ग्यासको अभाव चुलिएका बेला उपभोक्तालाई बिक्री नगरी लुकाएर राखेको भेटिएपछि नेपालगञ्जको एक प्रोभिजन स्टोरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। सदरलाइनमा सञ्चालित ‘शंकर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोर’लाई अनुगमन टोलीले कारबाही गरेको हो।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले ग्यास लुकाइएको गुप्त सूचनाका आधारमा पसलमा छापा मारेको थियो। टोलीले बन्द अवस्थामा रहेको सटर खोलेर जाँच गर्दा भित्र लुकाएर राखिएका १३ वटा ग्यास सिलिन्डर फेला पारेको थियो।

अनुगमन टोलीले कालोबजारी गर्ने नियतले ग्यास भण्डारण गरिएको निष्कर्ष निकाले पनि स्टोर सञ्चालकले भने उपभोक्तालाई वितरण गर्नकै लागि राखिएको दाबी गरेका छन्।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका अनुसार उक्त स्टोरलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड (क) बमोजिम कसुर गरेको ठहर गर्दै सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (घ) अनुसार ५० हजार रुपैयाँ जरिवाना तोकिएको हो।

कार्यालयले तोकिएको जरिवाना रकम ७ दिनभित्र बैंक खातामा दाखिला गरी भौचरसहित उपस्थित हुन सञ्चालकलाई निर्देशन दिएको छ। यद्यपि, स्टोर सञ्चालकले भने कारबाही पत्र बुझ्न अस्वीकार गरेका छन्।

हाल बजारमा खाना पकाउने एलपीजी ग्यासको चरम अभाव देखिन थालेपछि स्थानीय प्रशासनले बजार अनुगमनलाई थप कडाइ र तीव्र बनाएको छ।

तस्वीर – निरन्तर नेपाल

1 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x