४ असार २०८३, बिहीबार

चीनमा धार्मिक स्वतन्त्रता माथी प्रहार , चर्च बाट पादरी सहित आमनागरिक पक्राउ

एसीपी संवाददाता

२ असार २०८३, मंगलवार ०५:५२ मा प्रकाशित

चीनको प्रभावशाली भूमिगत प्रोटेस्टेन्ट चर्च ‘अर्ली रेन कोभेनन्ट चर्च’का दुई नेता पक्राउ परेका छन्। चर्चका अनुसार आइतबार नियमित प्रार्थना सभा चलिरहेका बेला सशस्त्र प्रहरी (SWAT) टोलीले छापा मारेर दुई धार्मिक अगुवासहित दर्जनौँ सदस्यलाई नियन्त्रणमा लिएको हो।

चर्चले सोमबार जारी गरेको विज्ञप्तिमा दक्षिणपश्चिमी शहर जियाङयोउस्थित एक होटलको हलमा भइरहेको धार्मिक कार्यक्रममा प्रहरी हस्तक्षेप भएको जनाएको छ। घटनाका क्रममा ३० भन्दा बढी सदस्य तथा चर्चका नेताहरूलाई विभिन्न सवारीसाधनमार्फत सोधपुछका लागि लगिएको बताइएको छ।

पक्राउ परेका नेता यान होङ र वु वुछिङलाई किन हिरासतमा लिइयो भन्नेबारे स्पष्ट जानकारी नदिइएको चर्चको भनाइ छ। अधिकांश सदस्यहरू सोधपुछपछि रिहा भए पनि ती दुई नेता अझै नियन्त्रणमै रहेको बताइएको छ।

चर्चद्वारा सार्वजनिक तस्बिर तथा भिडियोहरूमा प्रार्थना स्थल वरिपरि ठूलो संख्यामा प्रहरी र विशेष सुरक्षा टोली परिचालन गरिएको देखिन्छ। करिब ५० भन्दा बढी प्रहरी परिचालन गरिएको दाबी पनि गरिएको छ।

साथै, घटनाका क्रममा बालबालिका र वृद्धवृद्धासहितका सदस्यहरूलाई हलभित्रै रोकिएको र केहीलाई कागजातमा हस्ताक्षर गर्न दबाब दिइएको आरोपसमेत लगाइएको छ। तर उक्त कागजातको विषय स्पष्ट गरिएको छैन।

यो चर्च सन् २००८ मा स्थापना भएको हो र लामो समयदेखि चिनियाँ सरकारको निगरानीमा रहेको मानिन्छ। चर्चका संस्थापक पादरी वाङ यी २०१८ मा पक्राउ परेका थिए र हाल नौ वर्षको जेल सजाय भोगिरहेका छन्।

चीनमा धार्मिक गतिविधिमाथि कडा सरकारी नियन्त्रण रहँदै आएको छ। सरकारले आधिकारिक रूपमा स्वीकृत चर्चहरूमा मात्र धार्मिक गतिविधि अनुमति दिने नीति लिएको छ। तर अझै पनि हजारौँ विश्वासीहरू भूमिगत ‘हाउस चर्च’मार्फत प्रार्थना गर्दै आएका छन्।

मानव अधिकार तथा धार्मिक स्वतन्त्रता सम्बन्धी संस्थाहरूले चीनमा धार्मिक समुदायमाथि दबाब बढ्दै गएको बताउँदै आएका छन्। पछिल्लो घटनाले धार्मिक स्वतन्त्रता र राज्य नियन्त्रणबीचको बहस फेरि चर्काएको छ। #नौलोखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x