जसपा कता जाँदै छ ? उपेन्द्र र बाबुरामका कारण भुकम्प जाने खतरा
काठमाडौं । सत्ताको निर्णायक जनता समाजवादी पार्टीमा अध्यक्ष महन्थ ठाकुरको टिम प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग नजिक छ भने उपेन्द्र यादव र बाबुराम भट्टराईहरु माओवादी अध्यक्ष प्रचण्डसँग निकट छन् ।
महन्थले प्रधानमन्त्रीसँग नजिक भएर मधेसका मुद्दा सम्बोधनका लागि वातावरण बनाइरहेका बेला उपेन्द्र र बाबुराम माओवादी र कांग्रेससँग गठबन्धन गर्न हतारिएका छन् । उनीहरु महन्थलाई ओलीसँग नजिक हुन नदिने र मधेसका मुद्दा पनि नयाँ गठबन्धन बनाएर सम्बोधनको प्रयत्न गर्ने भनेर माहोल विगार्नमा व्यस्त छन् । यस्तोमा प्रधानमन्त्री ओलीले प्लान बी बनाएको खुलेको छ । जसलाई कांग्रेस सभापति शेरबहादुर देउवालेसमेत ग्रिन सिग्नल दिएको बुझिएको छ ।
प्रधानमन्त्री निकट एमाले नेता महेश बस्नेतले एमाले र कांग्रेस मिलेर चुनावी सरकार बन्न सक्ने खुलासा गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)भित्र सरकारका विषयमा विवाद भएकाले कांग्रेससँग मिलेर चुनावी सरकार बनाउन सकिने उनको भनाइ छ ।
पत्रकार ऋषि धमलासँगको कुराकानीमा बस्नेतले जसपाका माग पूरा गर्न सरकार तयार रहेको बताए । उनले जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले ओली सरकारमा जान रुचि नदेखाएको बताए ।
उपेन्द्र यादवसँग जसपामा ५–७ जनाभन्दा धेरै सांसद नरहेको एमालेका नेता बस्नेतले बताए । यादवसँग केन्द्रीय सदस्यहरू पनि निकै कम रहेको उनले दाबी गरे ।
जसपा सरकारमा सहभागी भएन भने कांग्रेससँग मिलेर चुनावी सरकार बनाउन सकिने सम्भावना निकै रहेको बस्नेतले बताए ।
कांग्रेस सभापति देउवाले पनि चुनाव चाहेकाले बरु कांग्रेसकै नेतृत्वमा चुनावी सरकार बनाएर अगाडि बढ्ने सम्भावना बढेर गएको उनले बताए ।
नेताहरुका अनुसार परिस्थिति त्यस्तो बने सघाउने सिग्नल देउवाबाट आएको छ ।नेपाल पाना


