१ श्रावण २०८३, शुक्रबार

डा. गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्रीसँग अपील

एसीपी संवाददाता

१८ आश्विन २०७७, आईतवार १८:३३ मा प्रकाशित

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाले २१ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्रीसँग अपील गरेका छन् । आइतबार सार्वजनिक अपील गर्दै देउवाले जनता र सिंगो देशले भावनात्मक रूपमा ऐक्यबद्धता जनाएका डा. केसीका माग पूरा गर्न आग्रह गरेका हुन् । 

एक विज्ञप्ति जारी गर्दै देउवाले लेखेका छन्, ‘चिकित्सा शिक्षा सुधारदेखि कोरोनाविरुद्ध प्रभावकारी कदमसमेतका उहाँका मागहरू केवल एक व्यक्तिका माग होइनन् , प्रतिपक्षले निरन्तर उठाइरहेका र सिंगो देशले भावनात्मक ऐक्यबद्धता जनाएका माग हुन् ।’

जनभावनाअनुरुपका माग पूरा गर्नु सरकारको कर्तव्य भएको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘सरकारले सुरुवातमा डा. केसीप्रति दुर्व्यवहापूर्ण व्यवहार गर्नु एकातर्फ आतपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदाशीन व्यवहार देखाउनुले लोकतान्त्रिक प्रणालीभित्र कम्युनिस्ट तन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको छ,’ देउवाको विज्ञप्तिमा लेखिएको छ ।

२०७५ सालमा प्रधानमन्त्रीमा केपी शर्मा ओली नै रहेका बेला डा. केसीसँग गरिएका माग सरकारले उल्लंघन गरेकाले अहिलेको अवस्था आएको देउवाको भनाइ छ । डा. केसीसँग संवाद गरेर समस्याको समाधान गर्दै त्यसको इमानदारीसाथ कार्यान्वयन गर्न पनि देउवाले सरकारलाई सुझाव दिएका छन् ।

डा. केसीको स्वास्थ्य स्थिति जटिल बन्दै गएकाले सरकारले तत्काल वार्तामार्फत उनका माग पूरा गर्दै जीवन रक्षा गर्नुपर्ने देउवाको भनाइ छ ।

डा. केसीले जुम्लामा अनशन थालेका थिए । त्यहाँ ९ दिन अनशन बसेर उनी राजधानी काठमाडौं आएका हुन् । उनका माग पूरा गर्न त्रिवि शिक्षण अस्पतालका चिकित्सकदेखि चिकित्सक संघ र विभिन्न राजनीतिक दलले सरकारलाई भन्दै आएका छन् । पछिल्लो समय डा. केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको छ  साभार इकान्तिपुर ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x