१ श्रावण २०८३, शुक्रबार

नयाँ गैरकम्युनिष्ट पार्टी’ खोल्दै पुर्बगृहमन्त्री रावल

एसीपी संवाददाता

१६ पुष २०८१, मंगलवार १५:३५ मा प्रकाशित

नयाँ वैकल्पिक राजनीतिक शक्ति निमार्णमा जुटेका पूर्वगृहमन्त्री भीम रावलले पूर्वप्रशासक, स्वतन्त्र व्यक्ति र एमाले–पंक्तिको व्यापक समर्थन जुटाइरहेका छन्।

एमालेबाट निकालिएपछि उनी ‘नयाँ गैरकम्युनिष्ट पार्टी’ खोल्ने तहमा पुगेको रावलनिकट स्रोतले जनाएको छ। हिजोआज नेता रावललाई भेट्न एमाले केन्द्रीय सदस्यसहित पूर्वमन्त्री र पूर्वसांसदकाे पनि लर्को लागेको छ।

स्रोतकाअनुसार उनलाई भेट्न सोमबार दिउँसो लुम्बिनी र कर्णाली प्रदेशका ३ पूर्वमन्त्री र प्रतिनिधिसभाका केही पूर्वसांसदहरू पुगेका थिए।

‘रावल कमरेडले नयाँ दल खोल्नेबारे चर्चा गर्नुभयो। हामीहरू पनि सहमत भयौँ र यो अभियानलाई जिल्ला तहसम्मै लैजानेबारे छलफलमै छौँ,’ भेटमा सहभागी कर्णालीका एक मन्त्रीले भने।

रावल निवास टोखामा दिनहुँजसो एमालेका नेता–कार्यकर्ताहरू नै पुगिरहेका हुन्छन्। त्यसो त आइतबारदेखि पूर्वमन्त्री र पूर्वसांसदहरूले उनको भावी कदमबारे साथ दिइरहेका छन्।

‘भोलि पत्रकार सम्मेलन हुँदैछ। रावल सर त्यसकै छलफलमै हुनुहुन्छ। जिल्ला–जिल्लाबाट आएका कतिपय नेताहरूसँग पनि भेटघाट भइरहेको छ, बाँकी सबै कुरा भोलि थाहा हुन्छ,’ रावलको सचिवालयमा एक सहयोगीले भने।

एमालेभित्र गुटबन्दीको मारमा परेका धेरै नेता–कार्यकर्ताहरू रावलको सम्पर्कमा आइरहँदा उक्त समूह थप उत्साहित देखिएको छ। ‘पालिका–पालिकामा विद्रोह भइरहेको छ। हेर्दै जानोस्, एमालेमा ठूलै पहिरो जान्छ,’ रावललाई भेटेर फर्किएका एक पूर्वसांसदले भने।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x