२ श्रावण २०८३, शनिबार

नेकपाभित्र विवाद हुँदा चिनियाँ राजदूत यान्छी जुरमुराउनुको रहस्य

एसीपी संवाददाता

४ मंसिर २०७७, बिहीबार १७:३६ मा प्रकाशित

सत्तारूढ नेकपाभित्र विवाद चलिरहँदा फेरि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । राजदूत होउले मंगलबार बेलुकी बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी हुन् । नेकपाभित्र द्वन्द्व चर्कंदा उत्तरी छिमेकी राजदूत होउले ओलीसँग लगातार तेस्रोपटक भेट्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

प्रधानमन्त्री कार्यालयले ओली र होउबीचको भेटबारे केही खुलाएको छैन तर चिनियाँ दूतावासका तृतीय सचिव चाङ सीले राजदूत होउले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको पुष्टि गरे । भेटवार्तामा मिडियामा आएको जस्तो कुनै पनि कुरा नभएको दाबी उनले गरे । ‘राजदूत होउ र प्रधानमन्त्री ओलीबीच तिहारको शुभकामना आदान–प्रदान र कोभिड–१९ नियन्त्रणका लागि भइरहेको कामबारे छलफल भएको थियो,’ उनले कान्तिपुरसित भने ।
नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच द्वन्द्व चर्किएका बेला होउसँग भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि पनि पार्टीमा आन्तरिक द्वन्द्व चर्कंदा होउले राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेकपाका शीर्ष नेताहरूलाई भेटेर सहजीकरण गरेकी थिइन् । त्यतिबेला ‘चिनियाँ सहजीकरण’ ले नेकपाको फुट रोकियो भनेर टिप्पणी गरिएको थियो । नेकपामा आन्तरिक द्वन्द्व चर्कंदा होउले असार १९ गते राष्ट्रपति भण्डारी, असार २१ गते नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र असार २३ गते अर्का वरिष्ठ नेता झलनाथ खलानलाई भेटेकी थिइन् ।
त्यसअघिको आन्तरिक द्वन्द्वका बेला उनले राजदूत होउले वैशाख १८ गते राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली तथा वैशाख १९ गते अध्यक्ष दाहाल र नेता नेपाललाई भेटेकी थिइन् । त्यसबेला दूतावासका पदाधिकारीले चीनले कसैको पनि आन्तरिक राजनीतिमा हात नहाल्ने बताएका थिए । नेकपा बलियो हुँदा भने नेपाल र चीन दुवैलाई सहज हुने उनीहरूको भनाइ थियो ।

भूराजनीति तथा सुरक्षाविज्ञ श्रीधर खत्रीले प्रधानमन्त्री ओली र चिनियाँ राजदूत होउबीच मंगलबार भएको डेढ घण्टाको भेटमा कोभिड–१९ र तिहारको शुभकामना आदान–प्रदान मात्र भएको भन्न नसकिने बताए । ‘त्यसमाथि तिहारको त हिजो (मंगलबार) नै अन्तिम दिन हो,’ उनले भने, ‘राजदूत दसैंमा पनि बधाई दिन जान सक्थिन् । तिहारमा मात्र जानुपर्ने थिएन ।’ होउले प्रधानमन्त्री ओली र नेकपाका अन्य नेतासँग गरेको भेटमा बाहिर गरिए जस्ता कुरा आउनु सामान्य भएको उनले बताए । ‘विशेष गरी जतिबेला नेकपामा विवाद चर्किन्छ, चिनियाँ राजदूतले भेट्न सुरु गर्ने गरेको देखिन्छ । त्यस्ता भेट एकपटक संयोग हुन्छ, दोस्रोपटक संयोग हुन्छ तर तेस्रोपटक चाहिँ भन्न गाह्रो हुन्छ,’ उनले भने ।
खत्रीले चिनियाँहरूले पहिले राजसंस्थालाई बलियो सहयोग गरेको उल्लेख गर्दै भने, ‘उनीहरूले सन् १९९० (बहुदलीय व्यवस्था पुनःस्थापना) पछि पनि राजसंस्थालाई नै महत्त्व दिएका थिए । त्यसबेलाका राजकुमार दीपेन्द्र शाहको चीन भ्रमण र पछि पारस शाहकै चीन भ्रमणका बेला पनि सहयोग लोयल्टीबाटै गर्ने गरेका थिए ।’
उनका अनुसार त्यसबेला एमालेले चिनियाँसँग पार्टी–पार्टी सम्बन्ध विस्तार गर्न चाहे पनि चीनले भने देश–देश सम्बन्धमै जोड दिएको थियो । ‘एमाले र माओवादी मिलेपछि उनीहरूलाई चीनले नेपालको बलियो शक्ति ठानेको छ र उनीहरू मिलेर बसे चीनको नीतिमा सहयोग हुन्छ भन्ने बुझाइ छ,’ उनले भने, ‘त्यसैले नेकपा फुट्छ कि भन्ने चिन्ता चीनलाई लागेको अनुमान गर्न सकिन्छ । त्यसैले नेकपामा विवाद हुँदा राजदूतले भेटघाट गरेको हुन सक्छ ।’ ईकान्तिपुुर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x