नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष भुसालले शुद्धिकरणलाई निरन्तरता दिने
नेपाल पत्रकार महासंघ कपिलवस्तुका नवनिर्वाचित अध्यक्ष डिलाराम भुसालले शुद्धिकरणलाई निरन्तरता दिने बताएका छन् ।
गत मंसिर २८ गते भएको महासंघको चुनावमा अप्रत्यासित जित निकालेका भुसालले निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्ने क्रममा महासंघको शुद्धिकरणको अभियान जारी राख्ने बताएका हुन् ।
प्रमाण पत्र ग्रहण गरी बसेको महासंघको पहिलो वैठकमा उनले महासंघको कार्यालयमा लागेको ताला पनि खोल्ने बताए। तालावन्दीकर्ता संगठनलाई ताला खोल्न २ दिनको म्याद दिने र नखोलिए आफूले ताला तोड्ने उनको चेतावनी छ ।
महासंघमा अब संगठन हुन नहुने बताउँदै पत्रकार महासंघलाई राजनीति गर्ने थलो बनाउन नहुने उनले बताए । आफ्नो दोहोरो कार्यकाल पहिलेको भन्दा राम्रो बनाउने बताउँदै उनले चुनावमा मत दिने सबै पत्रकारलाई धन्यबाद दिने बताए ।
सक्रिय पत्रकारलाई महासंघमा सदस्यता दिने र महासंघभित्र रहेका गैरपत्रकारलाई फेरि हटाउने उनले बताए । तालाबन्दी समस्याको समाधान नभएको हुँदा सहज बनाउन प्रेस चौतारी, प्रेस युनियन, प्रगतिशिल पत्रकार संघ लगायतलाई भुसालले आग्रह गरे । 
भुसालले साझा गठबन्धनकी पार्वती पाण्डेलाई ३ मतले हराएर जित हासिल गरेका थिए । यसैबीच पहिलो वैठकमा पनि भुसालले तालाबन्दी खोज्नु पर्ने बताएका थिए ।
लेख्ने, काम गर्ने पत्रकारलाई सदस्यताबाट बञ्चित गर्न नहुने उनले वैठकमा कुरा राखेका थिए । उनले निर्वाचन मण्डललाई पनि धन्यबाद दिएका थिए ।



