१८ श्रावण २०८३, सोमबार

नेपालगञ्ज वडा नं. ८ मा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी अभिमुखीकरण सम्पन्न

एसीपी संवाददाता

१८ श्रावण २०८३, सोमबार २१:२४ मा प्रकाशित

नेपालगञ्ज — नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ मा समुदायमा आधारित रोग निगरानी प्रणाली (CBS) सम्बन्धी वडास्तरीय एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमले समुदायमै रोगको प्रारम्भिक पहिचान, समयमै सूचना प्रवाह तथा जनस्वास्थ्य संरक्षणमा स्थानीय तह, स्वास्थ्य संस्था, विद्यालय र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने उद्देश्य लिएको थियो।                                    कार्यक्रममा (PHRD) संस्थाकी सहजकर्ता एलिना थापाले समुदायमा आधारित रोग निगरानी प्रणालीको उद्देश्य, कार्यविधि तथा यसको महत्त्वबारे विस्तृत सहजीकरण गर्नुभएको थियो।

अभिमुखीकरण कार्यक्रममा वडा नं. ८ का जनप्रतिनीधि , सञ्चारकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक सिकाइ केन्द्रका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।                                  सहजीकरणका क्रममा नेपालमा देखापरिरहेका विभिन्न सरुवा रोग, तिनका प्रारम्भिक लक्षण, जोखिम, रोकथामका उपाय तथा समुदायको भूमिकाबारे जानकारी दिइएको थियो। कुनै पनि असामान्य स्वास्थ्य समस्या वा रोगको प्रारम्भिक लक्षण देखिएमा ढिलाइ नगरी सम्बन्धित स्वास्थ्य संस्थामा सूचना दिन सके रोगको फैलावट रोक्न र समुदायलाई सुरक्षित राख्न ठूलो सहयोग पुग्नेमा विशेष जोड दिइएको थियो।                         कार्यक्रमकै क्रममा सामुदायिक सिकाइ केन्द्रकी सहजकर्ताले ‘हेलो स्वास्थ्य सेवा’ टोल फ्री १११५ नम्बरबारे जानकारी गराउँदै समुदायका नागरिकले कुनै पनि शंकास्पद रोग, असामान्य स्वास्थ्य अवस्था वा सम्भावित प्रकोपसम्बन्धी सूचना हेलो स्वास्थ्य केन्द्रको निःशुल्क नम्बर १११५ मा फोन गरेर दिन सक्ने जानकारी दिनुभयो। समयमै सूचना प्रवाह भएमा सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्न सक्ने र सम्भावित महामारीको जोखिम न्यूनीकरण गर्न सहज हुने उहाँको भनाइ थियो।      

समापन कार्यक्रममा समुदायको सक्रिय सहभागिताबिना रोग निगरानी प्रणाली प्रभावकारी हुन नसक्नेमा जोड दिइयो। वडाका विद्यालयका प्रधानाध्यापकले विद्यालय, स्वास्थ्य संस्था र समुदायबीचको समन्वयले जनचेतना अभिवृद्धि गर्दै स्वस्थ र सुरक्षित समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।

आयोजकका अनुसार समुदायमा आधारित रोग निगरानी प्रणालीले रोगको प्रारम्भिक पहिचान, समयमै सूचना प्रवाह र शीघ्र उपचार व्यवस्थापनलाई सहज बनाउँदै जनस्वास्थ्य सुरक्षालाई थप सुदृढ बनाउने विश्वास लिइएको छ।
“समयमै सूचना, समयमै उपचार, स्वस्थ समुदाय” भन्ने मूल सन्देशका साथ सम्पन्न कार्यक्रमले प्रत्येक नागरिकलाई रोगप्रति सचेत, जिम्मेवार र सक्रिय बन्न प्रेरित गरेको आयोजकले जनाएको छ।

यसमा १३ वटा घटना ८ वटा लक्षण को जानकारी भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x