नेपालगञ्जको पिसिआर परीक्षणमा बाँकेका १४ सहित ३३ जनामा कोरोना संक्रमण पुष्टि

भेरी अस्पताल नेपालगञ्जको पिसिआर परीक्षणमा बाँकेका १४ सहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्ग्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश बाबु श्रेष्ठले उक्त जानकारी दिनु भएको हो । बाँकेका १४, बर्दियाका १८ र पाल्पाका १ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा गरिएको १ सय ३४ जनाको परीक्षणमा ३३ जनामा कोरोना देखिएको भेरी अस्पतालले जनाएको छ ।
यसैबीच सोमबार बाँकेमा २९ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । सोमवार भेरी अस्पतालका दुईजना ल्याब टेक्निशियनसहित २९ जना डिस्चार्ज भएका हुन् । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार उनिहरुलाई भदौ २९ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेशनमा राखिएको थियो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ६३ पुगेको छ । श्रेष्ठका अनुसार हाल बाँकेका आइसोलेशन केन्द्रमा अन्य जिल्लाका ८ गरी ३ सय ५३ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ८ सय २१ रहेको छ भने १३ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।



