नेपालगञ्जमा वडावासीका लागि नियमित निःशुल्क कम्प्युटर तालिम
नेपालगञ्ज — नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रजनीश बाजपेयीको विशेष पहल तथा वडा कार्यालयको आयोजनामा वडावासीहरूलाई लक्षित गरी निःशुल्क कम्प्युटर तालिम सुरु गरिएको छ।
वडाभित्रका बालबालिका, युवायुवती तथा महिलाहरूलाई प्रविधिमैत्री र आत्मनिर्भर बनाउने मुख्य उद्देश्यसहित यो तालिम स्थानीय महेन्द्र पुस्तकालयको भवनमा सञ्चालन गरिएको हो।
डिजिटल साक्षरतालाई वडा तहदेखि नै प्रभावकारी बनाउने र प्राविधिक शिक्षामा सबैको समान पहुँच पुर्याउने लक्ष्यसहित यो कार्यक्रम ल्याइएको वडा अध्यक्ष बाजपेयीले बताएका छन्। उनले आजको युग प्रविधिको युग भएकाले सामान्यभन्दा सामान्य नागरिक पनि कम्प्युटर सीपबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो तालिमको आयोजना गरिएको बताए।
केही वर्ष अगाडि देखी नै निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरिएको छ। वडा कार्यालयले यसलाई निरन्तरता दिँदै यस्ता प्राविधिक तथा डिजिटल साक्षरताका कार्यक्रमहरूलाई सदाका लागि वा नियमित रूपमा सञ्चालन गरिरहेको छ। यस किसिमको दीर्घकालीन सोच र निरन्तरताले स्थानीय बासिन्दाहरूलाई प्रविधिमैत्री बनाउनुका साथै डिजिटल ग्याप (Digital Divide) कम गर्न ठूलो सहयोग पुर्याएको छ।
यस निःशुल्क तालिममार्फत वडाका बालबालिका, युवा तथा महिलाहरूले आधारभूत कम्प्युटर सीप सिक्ने अवसर प्राप्त गरेका छन्। नियमित रूपमा सञ्चालन हुने यस्ता व्यावहारिक तालिमहरूले आगामी दिनमा उनीहरूको शैक्षिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने बलियो अपेक्षा गरिएको छ।


