नेपालगन्जमा ८०८ ग्राम खैरो हेरोइनसहित ३ भारतीय नागरिक पक्राउ
काठमाडौं, असोज १३ — लागु औषध नियन्त्रण ब्युरोले नेपालगन्जबाट ठूलो परिमाणमा लागु औषध खैरो हेरोइनसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारतबाट लागु औषध खैरो हेरोइन ल्याई नेपालका विभिन्न स्थानमा बिक्री वितरण गरिरहेको भन्ने विशेष सुराकीको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ स्थित एक होटेलबाट ८०८ ग्राम खैरो हेरोइन फेला पारेको छ। उक्त कारोबारमा संलग्न भारतको उत्तर प्रदेशस्थित जिल्ला बहराइच ठेगाना भएका वर्ष २१ का रिजवान अहमद इद्रीसी, वर्ष १८ का माज अहमद र वर्ष २६ का रफत खानलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूको साथबाट खैरो हेरोइनसँगै भारतीय नम्बर प्लेटको एक थान स्कुटर (\text{UP32FH2679}) र दुई थान मोबाइल समेत बरामद गरिएको छ। पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको ब्युरोले जनाएको छ।


