नेपाली राजदूतावासद्वारा रियादमा सेवाग्राहीका लागि राहदानी नविकरण सेवा शुरु
अरशद शेष राई
साउदी अरेबिया
दमाम र जुवेलमा राहदानी आवेदन संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्ने सम्बन्धी रियाद स्थित नेपाली राजदुतावासले शुक्रबार एक बिज्ञप्ती प्रकाशित गरि सबैलाई जानकारी गराएको छ ।
साउदी अरेबियाको राजधानी रियादमा रहेको नेपाली राजदूतावासले रियाद शहर भन्दा टाढा रहनु भएका सेवाग्राहीलाई उहाँहरूलाई पायक पर्ने स्थानबाटै राहदानी नविकरण सेवा प्रदान गर्ने उद्देश्यले पहिलो चरणमा देहायका शहर र मितिमा राहदानी आवेदन (फोटो खिच्ने, औंठा छाप, हस्ताक्षर आदि) संकलनका लागि अस्थायी कार्यालय सञ्चालन गर्न लागेको राजदुताबासले सबैलाई जानकारी गराएको हो ।
नेपाली राजदुतावासले अस्थायी कार्यालय स्थापना हुने दम्माम शहरमा ४ डिसेम्बर २०२० शुक्रबार र जुवेल शहरमा ११ डिसेम्बर २०२० शुक्रबार हुने भए पनि अस्थायी कार्यालय राख्ने स्थान र समय पछि जानकारी गराइने बताएको छ ।
राहदानी आवेदन फाराम संकलन गर्दा अनलाइन फारम भर्नुभएकाहरूलाई पहिलो प्राथमिकता दिइने व्यहोरा समेत बिज्ञप्तीमा जनाएको छ ।
राहदानी नविकरणको लागि अनलाईन फारम भर्न बाँकी रहेकाहरूले आफैंले वा आफ्ना साथीभाईको सहयोगमा अथवा विज्ञप्तिमा दिएको लिंकबाट यथाशीघ्र अनलाईन फारम भरी पठाउनु हुन दूतावासले पुनः अनुरोध गरेको छ ।


