२ श्रावण २०८३, शनिबार

परराष्ट्रमन्त्री राणा र विदेशमन्त्री जयशंकरबीच संवादले ओली-मोदीको भेट तय

एसीपी संवाददाता

६ आश्विन २०८१, आईतवार २२:३७ मा प्रकाशित

संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९ औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका उनीहरुबीच आइतबार अमेरिकी समयअनुसार साढे ५ बजे (नेपाली समय सोमबार बिहान सवा तीन बजे) भेटवार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

दुई प्रधानमन्त्रीको भेटमा नेपाल-भारतबीचको सम्बन्धलाई मजबुत बनाउन र दुई देशका सरकारबीच आपसी सहकार्यका विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ।

गत भदौ ३० गते परराष्ट्र मन्त्री डा. आरजु राणा र भारतका विदेशमन्त्री एस. जयशंकर टेलिफोन वार्ता भएको थियो। त्यही संवादबाट प्रधानमन्त्री ओली र समकक्षी मोदीको न्युयोर्कमा  भेट गर्ने समय निश्चित भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

यस अगाडि परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा गएका बेला दुई प्रधानमन्त्रीको भेट बिमस्टेकको बैठक हुँदा थाइल्याण्डमा गर्ने तय भएको थियो। तर बिमस्टेकको बैठक स्थगित भएपछि ओली र मोदीको भेट अनिश्चित भएको थियो। यद्यपी राष्ट्रसंघको महासभा हुने भएपछि पुन: भेटका लागि परराष्ट्र मन्त्री राणाले पहल गरेकी थिइन्।

प्रधानमन्त्री ओलीले मोदीसँगको भेटपश्चात अन्य देशका राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि साइडलाइन भेटवार्ता गर्ने तय भएको छ। बिहीबार प्रधानमन्त्री ओलीले कतार, पाकिस्तान र लाओसका प्रधानमन्त्रीबीच पनि छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता हुनेछ।

यस अघि प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार शनिबार साँझ संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबीच भेटवार्ता गरेका थिए। सोमबार प्रधानमन्त्री ओलीले युनिसेफ भवनमा हुने ‘लिड–फ्रि फयुचर, पाटर्नरसिप लञ्च’कार्यक्रमलाई सम्बोधन गर्नेछन्। मंगलबार बिहान प्रधानमन्त्री ओली महासभाको छलफलमा सहभागी हुने कार्यतालिका छ।

गत असार ३० गते प्रधानमन्त्रीमा  नियुक्त भएपछि ओलीको यो पहिलो विदेश भ्रमण हो। संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली शुक्रबार कतार हुँदै अमेरिका प्रस्थान गरेका थिए। भदौ ३१ गते क्यानडा गएकी राणा पनि राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेकी छन्। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x