पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम सम्पन्न
बाँके यूनेस्को क्लब र प्लान इंटरनेशनल नेपालको साझेदारीमा सञ्चालित हरित अर्थतन्त्र परियोजना अन्तर्गत पर्यावरण संरक्षण सम्बन्धी एकदिने तालिम मिति २०८१ कार्तिक २५ गते बर्दिया, भुरीगाउँ स्थित कासा कटेज एण्ड लजमा सफलतापूर्वक सम्पन्न भएको छ। यस तालिममा जम्मा २५ जना 18 देखि 24 वर्ष उमेर समूहका युवतीहरूको सक्रिय सहभागिता रहेको थियो।
तालिमको मुख्य उद्देश्य युवतीहरूलाई वातावरण र हरित अर्थतन्त्रको महत्त्व, प्रदूषित वातावरणका कारण विश्व तापमान बढ्दै जानु र जलवायु परिवर्तन जस्ता नकारात्मक प्रभावहरूको बारेमा ज्ञान प्रदान गर्नु थियो। प्रशिक्षकहरूले समुदाय स्तरमा वातावरण संरक्षणका लागि गर्नुपर्ने आवश्यक पहलहरू बारे र विद्यमान पर्यावरणीय कानून तथा यसको प्रभावकारी कार्यान्वयनका महत्त्वका बारेमा पनि जानकारी दिएका थिए।
सहभागी युवतीहरू यस तालिम प्रति निकै उत्साहित र उत्सुक देखिएका थिए। उनीहरूले आत्मनिर्भर र आर्थिक रूपमा सक्षम भई समाजमा सम्मानजनक जीवन जिउनका लागि हरित व्यापारमा संलग्न हुने इच्छा व्यक्त गरेका थिए साथै उनीहरूले समुदाय स्तरमा वातावरण संरक्षणमा योगदान पुर्याउन सचेतना फैलाउने समेत प्रतिबद्धता जहेर गरेका छन्।
यस तालिममा बर्दिया राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत श्री रमेश कुमार थापा मुख्य प्रशिक्षकको रूपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रम अधिकृत श्री राधे कृष्ण थारु र फिल्ड सुपरवाइजर सुश्री कञ्चन दहितले यसको सफल कार्यान्वयन र व्यवस्थापनमा उल्लेखनीय सहयोग पुर्याउनुभएको थियो।





