पीएम कप महिला क्रिकेट प्रतियोगिताको लागि लमही मैदान
सगुन सिंह नेपालगन्ज । पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि लमही मैदानको तयारी अन्तिम चरणमा पुगेको छ ।
पुसको दोस्रो सातादेखि सुरु हुने महिला राष्ट्रिय प्रतियोगिता लमहीका तीन वटा पिचमा सञ्चालन हुने छ । गतवर्ष आठौं राष्ट्रिय प्रतियोगितामा लमहीको पिचलाई लिएर प्रश्न उठेको थियो । यस पटक नेपाल क्रिकेट संघ (क्यान) ले काठमाडौंबाट मंसिर अन्त्यतिर क्यूरेटर बिशन मण्डललाई लमही पठाएको छ । आठौं राष्ट्रिय प्रतियोगितामा भन्दा यस पटक ब्याटिङ गर्न सजिलो हुने मण्डल बताउँछन् । मैदानको ३० याडलाई विशेष ध्यान दिइएको छ । आउटफिल्डमा रहेका खाल्डा खुल्डीमा माटो हालिएको छ । प्रतियोगिताको लागि मैदान निर्माणको जिम्मा दाङ देउखुरी क्रिकेट क्लबले पाएको छ । नगरविकास समितिले प्याराफिट निर्माणको लागि १ करोड विनियोजन गर्दै ठेक्का दिएको थियो । लमही मैदान तयार पार्नको लागि दैनिक १२ जनशक्ति परिचालन भई रहेको छ । देउखुरी क्रिकेट क्लबका प्रशिक्षक तथा स्थानिय आयोजक व्यवस्थापन समितिका सदस्य अमित तामाङले विकेट बाहेक अन्य सबै काम सकिएको बताउँछन् । तामाङका अनुसार महिला राष्ट्रिय प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको छ । प्रतियोगितामा कर्णाली बाहेक अन्य ६ प्रदेश र एपिएफ गरि ७ टोलीबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिता समूहमा विभाजन गरेर हुन्छ वा सबै टोलीले लिगको आधारमा एक अर्कावीरुद्ध भिड्छन् हालसम्म स्पष्ट छैन । अर्कोतर्फ प्रदेश छनोट टि २० शैलीमा गरिएको छ । प्रतियोगिता एकदिवसिय वा टि २० भन्ने पनि अनिश्चित छ ।


