पूर्वमन्त्री इस्तियाक राईले सामाजिक सञ्जालमा भइरहेको चरित्र हत्या विरुद्ध आपत्ति जनाउँदै कानुनी कारबाहीको चेतावनी
काठमाडौं, वैशाख – जनता समाजवादी पार्टीका महासचिव एवं पूर्वमन्त्री मोहम्मद इस्तियाक राईले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले सामाजिक सञ्जाल र केही युट्युब च्यानलमार्फत् भ्रामक र कपोकल्पित सूचना फैलाइएको भन्दै कडा आपत्ति जनाएका छन्।
राईका सचिवालयबाट सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, “पूर्वमन्त्री राईविरुद्ध हालसालै सार्वजनिक गरिएका समाचारहरू आधारहीन, कपोकल्पित र राजनीतिक बदनामिका लागि नियोजित रुपमा गरिएको षड्यन्त्र हुन्।” विज्ञप्तिमा सो कार्यलाई गैरकानुनी र प्रेस आचारसंहिताविपरीत रहेको बताउँदै दोषीहरूलाई कानुनी दायरामा ल्याइने चेतावनी दिइएको छ।
विज्ञप्तिमा भनिएको छ कि पूर्वमन्त्री राईमाथि आपराधिक मुद्दा लगाइएको भनेर सामाजिक सञ्जाल तथा युट्युबहरूमा गरिएको प्रचार पूर्णरूपमा गलत हो र यसबारे प्रहरीले समेत कुनै पुष्टि नगरेको जनाइएको छ। “यसरी झुटो सूचना फैलाएर जनतालाई भ्रममा पार्ने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग हो,” विज्ञप्तिमा उल्लेख छ।
राईका सचिवालयले सामाजिक सद्भाव विथोल्ने तथा मानमर्दन गर्ने यस्ता गतिविधिहरूको प्रतिवाद गर्दै दोषीमाथि कानुनी कारबाही अगाडि बढाउने स्पष्ट पारेको छ। साथै, पत्रकारिता आचारसंहिता विपरीत कार्य गर्ने सञ्चारमाध्यम र व्यक्तिहरूलाई प्रेस काउन्सिल नेपालमा उजुरी दिने तयारी भइरहेको बताइएको छ।
पूर्वमन्त्री राईले जनतालाई भ्रममा नपर्न आग्रह गर्दै सत्यतथ्यबिना समाचार नप्रकाशन गर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेका छन्।



