पोखरेललाई पुनको सुझावः मात्तिन हुँदैन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य वर्षमान पुनले पार्टीभित्र भइरहेको बहस र अन्तरविरोधबाट नआत्तिन र नमात्तिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपाका अर्का स्थायी समिति सदस्य शंकर पोखरेलले पार्टीको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको एकल प्रस्तावले पार्टीको फुटको गम्भीर मोडमा पुगेको भन्दै शनिबार बिहान सामाजिक सञ्जालमार्फत आपत्ति जनाएपछि मन्त्री पुनले पनि सामाजिक सञ्जालमार्फत नै जवाफ फर्काएका हुन्।

‘पार्टी सचिवालय बैठक प्रारम्भ र लिखित प्रस्तावले नयाँ बहसको सुरुवात भएको छ। पार्टी भनेको जमेको पोखरीजस्तो होइन, हिमालबाट बग्ने तीव्र वेगको नदीजस्तो हो। पार्टीमा हुने छलफल, बहस,अन्तर्विरोधबाट कोही आत्तिने वा मात्तिने गर्नु जनउत्तरदायी र क्रान्तिकारी पार्टीका नेता एवं कार्यकर्ताको जिम्मेवारी हुन सक्दैन,’ नेता पुनले फेसबुकमा लेखेका छन्, ‘पार्टी एकताको रक्षा तथा जनताको अपेक्षालाई आत्मसात् गर्दै बिनाउत्तेजना राजनीतिक बहसबाट पार्टीमा विधि, पद्धति र राजनीतिक संस्कारको विकास गर्न सबै नेताहरूमा हार्दिक अनुरोध गर्दछु।’

नागरिकअनलाइनबाट


