३२ असार २०८३, बिहीबार

बंगलादेशमा फेरि हिंसा, हसिना भन्छिन्- समयले बदला लिनेछ

एसीपी संवाददाता

२४ माघ २०८१, बिहीबार १३:०५ मा प्रकाशित

बंगलादेशको संस्थापक राष्ट्रपति शेख मुजिबर रहमानको घरमा गरिएको आगजनी ।

काठमाडौं । बंगलादेशको राजधानी ढाकामा पुनः हिंसा मच्चिएको छ । आवामी लिगले आयोजना गरेको विरोध प्रदर्शनअघि हिंसा भड्किएको हो ।

बुधबार राति प्रदर्शनकारीहरूले बङ्गलादेशका संस्थापक शेख मुजिबर रहमानको ढाका स्थित घर तोडफोड गर्दै आगजनी गरेका छन्।

शेख हसीनाका आफन्त शेख सोहेल र शेख जेवेलका घरहरूमा पनि बुलडोजर लगाएर भत्काइएका स्थानीय मिडियाहरूले खबर लेखेका छन्।

हिंसा मच्चिएपछि पूर्वप्रधानमन्त्री शेख हसिनाले इतिहास मेटाउन नसकिने र समयले बदला लिने चेतावनी दिएकी छन् ।

उनले भनेकी छन्, ‘एउटा घरसँग किन डराएको ? म बंगलादेशको जनताको लागि न्याय चाहन्छु । के मैले मेरो देशको लागि केही गरिनँ ? फेरि यति धेरै अपमान किन ? एउटा घर भत्काउन सकिन्छ तर इतिहास मेट्न सकिन्न । मेरो पिताको घर भत्काउनेले याद राखून्- इतिहास बदलिन्छ ।’

किन भड्कियो हिंसा ?

आवामी लिगले ६ फेब्रुअरी अर्थात् आजका लागि देशव्यापी प्रदर्शनको आह्वान गरेको थियो । लिगले प्रस्ताव गरेको देशव्यापी विरोध प्रदर्शनको पहिला नै कैयौं सहरमा बुधबार राति हिंसा भड्किएको हो ।

विद्यार्थी संगठन ‘२४ रिभोल्युसनरी स्टुडेन्ट- जनता’ले ‘बुलडोजर मार्च’ निकाल्ने घोषणा गरेपछि हिंसा सुरु भएको हो। प्रदर्शनकारीहरू ‘शेख हसिनालाई फाँसी दे’ भन्दै नारा लगाइरहेका थिए।

शेख मुजिबर रहमानको घर र संग्रहालयमा डोजर लगाएर तोडफोड भएको छ ।

आन्दोलन चर्किएसँगै ५ अगस्ट २०२४ मा शेख हसिना देश छाडेर भारत गएकी थिइन् । विद्यार्थी आन्दोलनपछि उनको सरकार ढालेर अन्तरिम सरकार बनाइएको थियो।

नयाँ सरकारले हसीनामाथि देशद्रोह, हत्या, अपहरण लगायत २२५ मुद्दा लगाएको छ। उनको पासपोर्ट रद्द गरिएको छ भने गिरफ्तारी वारन्ट जारी पनि जारी गरिएको छ ।

बङ्गलादेशले भारतलाई हसिनालाई डिपोर्ट गर्न अनुरोध गरेको छ, तर भारतले उनको भिसा अवधि बढाइसकेको छ।

हसिनाका विरोधीहरुले बंगलादेशमा अशान्ति फैलाउन षड्यन्त्र गरेको आरोप लगाएका छन् ।

बंगलादेशमा मच्चिइरहेको यो हिंसालाई सामाजिक सञ्जालमा ‘बुलडोजर जुलुस’ भनिएको छ । प्रदर्शनकारीहरूले हमला गरिरहँदा त्यहाँ सुरक्षाकर्मी पनि तैनाथ थिए । भिडलाई यी कामबाट रोक्न सुरक्षाकर्मीले गरेको सम्झाउने प्रयास असफल भएको सञ्चारमाध्यमहरूले लेखेका छन् ।

केही प्रदर्शनकारी शेख मुजिबर रहमानको घर र संग्रहालयमा घुसेर तोडफोड र आगजनी गरेका हुन् । यसका तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

शेख मुजिबर रहमान बंगलादेशका संस्थापक एवम् शेख हसिनाका बुवा हुन् ।

हसिनाले समर्थकलाई अनलाइनबाट सम्बोधन गर्ने तयारी थियो

हसिना नेतृत्वको आवामी लिग पार्टीले ६ फेब्रुअरीबाट आफ्ना कार्यकर्तालाई सडकमा उत्रन अपिल गरेको थियो ।

शेख हसिना

बुधबार शेख हसिनाले बंगलादेश छोडेको ६ महिना पूरा भएको छ । ६ फेब्रुअरी राति ९ बजे हसिनाले आफ्ना समर्थकलाई अनलाइनबाट सम्बोधन गर्ने कार्यक्रम थियो ।

‘जुलाई क्रान्ति’ को नेतृत्व गरेका विद्यार्थी संगठनले यसको विरोधमा राति ९ बजे बुलडोजर मार्च निकाल्ने घोषणा गरेको थियो ।

यसको प्रचार सामाजिक सञ्जालबाटै गरियो । जहाँ शेख हसिनाको पिताको घर भत्काउने योजना सार्वजनिक गरिएको थियो । तर प्रदर्शनकारी ८ बजे नै त्यहाँ पुगे र तोडफोड सुरु गरे ।

उनीहरू त्यहाँ पुग्दा ‘शेख हसिनालाई फासी दे’ को नारा लगाइरहेका थिए । उनीहरूले आवामी लिग पार्टीका नेताहरूलाई बंगलादेशमा बस्न नदिने उद्घोष समेत गरेका थिए ।

तोडफोड गरिएको त्यही घर हो जहाँ १५ अगस्ट १९७५ मा शेख मुजीब, उनकी पत्नी, छोरा, बुहारी र अरु कैयौ नातेदारको हत्या गरिएको थियो ।

उक्त हत्याकाण्डपछि त्यो घरलाई संग्रहालयमा रुपान्तरण गरिएको थियो । ५ अगस्ट २०२४ शेख हसिनाले देश छाड्नुअघि पनि यो घरमा आक्रमण गरिएको थियो ।

बङ्गलादेश सरकारले जुलाईमा भएका हत्या घटनाहरूलाई कारण देखाउँदै हसीनाको पासपोर्ट रद्द गरिसकेको छ। साथै, बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले उनको गिरफ्तारी वारन्ट जारी गरेको छ। हसिनालाई १२ फेब्रुअरीभित्र उपस्थित हुन आदेश दिइएको छ।

बङ्गलादेश सरकारले भारतलाई हसीनालाई डिपोर्ट गर्न अनुरोध गरिसकेको छ। तर, भारत सरकारले उनको भिसावधि बढाइसकेको छ, जसले उनी बङ्गलादेश डिपोर्ट नहुने संकेत गरेको छ।

बङ्गलादेशको प्रमुख अखबार ‘द डेली स्टार’का अनुसार सोशल मिडियामा भाइरल पोस्टका आधारमा यो प्रदर्शन शेख हसिनाको ‘बङ्गलादेशविरोधी गतिविधि’ का कारण गरिएको बताइएको छ।
विरोधीहरूले शेख हसिनाले भारतबाट बंगलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाउने गरेका छन् ।अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x