१ श्रावण २०८३, शुक्रबार

बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सम्झौता हुँदै

एसीपी संवाददाता

१७ आश्विन २०८१, बिहीबार १०:३९ मा प्रकाशित

आज अपराह्न चार बजे होटल याक एण्ड यतीमा नेपाल र बंगलादेशका ऊर्जामन्त्रीको उपस्थितिमा विद्यत् व्यापारसम्बन्धी सम्झौता पत्रमा अपराह्न हस्ताक्षर हुने छ ।

‘सीमा जोडिएको भारतसँग मात्र विद्युत् व्यापार गर्दै आएकोमा अब सीमा नजोडिएको बंगलादेशसँग पनि विद्युत् व्यापार गर्दै छौं,’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘दुईपक्षीय विद्युत् व्यापारबाट त्रिपक्षीय व्यापारमा प्रवेश गर्नु नेपालको समग्र ऊर्जा क्षेत्रका लागि यो कोशेढुंगा हो ।’

नेपाल विद्युत् प्राधिकरण, भारतको एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) र बंगलादेशको बीपीडीबीबीच त्रिपक्षीय सम्झौता हुनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बाँकी रहेका सम्पूर्ण प्रक्रिया पूरा गरी यही वर्षायामबाट बंगलादेश विद्युत् निर्यात गर्ने गरी काम सुरु गरिसकिएको बताए ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात गर्ने तयारी गरेको छ । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् ।

प्राधिकरणले वर्षायामको ६ महिना (हरेक वर्षको १५ जुन-१५ नोभेम्बरसम्म) पाँच वर्षका लागि ४० मेगावाट विद्युत् अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युतबिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने छ ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाउने छ । अर्थात बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहने छ ।

ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्नेछ । मुजफ्फरपुरबाट भारतको प्रसारण लाइनमार्फत बहरामपुर (भारत)-भेरमारा (बंगलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश विद्युत् पुग्नेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुजफ्फरपुर विन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, एनभिभिएनले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरु बंगलादेशले नै बेहोर्ने बताए ।

घिसिङले बंगलादेशको सीमासम्म पुग्दा विद्युतको प्रति युनिट दर करिब ७.६ सेन्ट पुग्ने उल्लेख गरे । ‘हामीले मुजफ्फरपुर विन्दुमा ६.४० सेन्ट पाउने हो, डलरमा भुक्तानी पाउने हुँदा मुद्रा सटहीको जोखिम हुँदैन, वर्षायामको विद्युत् बिक्रीका लागि हामीले पाएको दर उचित हो’, उनले भने ।

उनका अनुसार यसरी सरकार-सरकार तहमा बंगलादेशसँग साङ्केतिक रुपमा पहिलो चरणमा हुन लागेको विद्युत् व्यापारले आगामी दिनमा क्षेत्रीय रुपमा ठूलो परिमाणमो व्यापारलाई सहयोग र सहजीकरण गर्नेछ । साथै यसले विद्युत् व्यापारका अरु धेरै बाटाहरु खुलाउने उनले विश्वास व्यक्त गरे । अनलाइनखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x