बर्दियामा विषादी रहित तरकारी खेतीका लागि स्टार्टअप सहयोग (अनुदान) कार्यक्रम सफलतापूर्वक सम्पन्न
बर्दिया – ग्रीन इकनोमी परियोजनाको साझेदारीमा बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालद्वारा राजापुर नगरपालिका वडा नं. ४, बर्दियामा विषादी रहित तरकारी खेतीका लागि स्टार्टअप सहयोग (अनुदान) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। सो कार्यक्रमअन्तर्गत ३९० घण्टे व्यवसायिक सिप विकास तालिम सफलतापूर्वक सम्पन्न गरेका ११ जना युवा महिलाहरुलाई प्रति व्यक्ति २३,७३० रुपैयाँ बराबरको सामग्री सहयोग प्रदान गरिएको थियो, जसलाई क्यास भौचर सहायता (CVA) विधिबाट उपलब्ध गराइएको हो।
यस सहयोग कार्यक्रमको मुख्य उद्देश्य युवा महिलाहरुलाई हरित उद्यम स्थापना र सञ्चालनमा सक्षम बनाउँदै स्वरोजगार र आर्थिक आत्मनिर्भरताका माध्यमबाट असमानता, हिंसा र बाल विवाह न्यूनीकरणमा योगदान पुर्याकउनु रहेको छ।
स्टार्टअप सहयोग वितरण कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष श्री रवि कुमार तुलाधरज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा राजापुर नगरपालिकाकी उप–प्रमुख श्रीमती मनकला कुमारी चौधरीज्यू प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। अन्य विशिष्ट अतिथिहरुमा वडा नं. ६ का वडा अध्यक्ष श्री असराज न्यौपाने, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक श्री परवेज अली सिद्दिकी, पूर्व अध्यक्ष श्री राजेन्द्र चौधरी, प्रेस सल्लाहकार श्री निरज कुमार गौतम, श्री कमल पन्थी लगायत विभिन्न स्थानीय पत्रकारज्यूहरूको सहभागिता रहेको थियो। परियोजनाको उद्देश्य, लक्ष्य र सहयोगको औचित्यबारे परियोजना प्रमुख श्री राधे कृष्ण थारुज्यूले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको व्यवस्थापन फिल्ड सुपरभाइजर श्रीमती संजिता रिजालज्यूले गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उप–प्रमुख श्रीमती मनकला कुमारी चौधरीज्यूले उपस्थित सहभागीहरुलाई स्वागत गर्दै आत्मनिर्भर र गरिमायुक्त जीवन जिउनका लागि आत्मविश्वासका साथ आ–आफ्नो सीप र व्यवसायलाई अघि बढाउन प्रेरणादायी संदेश दिनु भयो। साथै, उहाँले समुदायभित्र बाल विवाह अन्त्य गर्न र महिला सशक्तीकरणका लागि स्वरोजगारको महत्त्वलाई पनि जोड दिनु भयो। समापन मन्तव्यमा बाँके युनेस्को क्लबका अध्यक्ष श्री रवि कुमार तुलाधरज्यूले सहभागी युवाहरुलाई प्राप्त सहयोगको पूर्ण उपयोग गर्न आह्वान गर्नुहुँदै भविष्यमा समेत संस्थाले आवश्यक सहयोग गर्दै आइरहने प्रतिवद्धता व्यक्त गर्नु भयो। उहाँले भन्नुभयो, “प्राप्त सहयोगको अधिकतम प्रयोग गर्नुहोस्, संस्था सदैव तपाईंहरूको साथमा रहनेछ।”




