२ भाद्र २०८३, मंगलवार

बाँकेमा १४ किलोभन्दा बढी अफिम र चरेशसहित दुई जना पक्राउ, एक राउण्ड हवाई फायर

एसीपी संवाददाता

२ भाद्र २०८३, मंगलवार १२:०३ मा प्रकाशित

बाँके — जिल्ला प्रहरी कार्यालय, बाँकेले ठूलो परिमाणको लागुऔषध (अफिम) र चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कोहलपुरबाट लागुऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार मिति २०८३ साल भदौ १ गते जिल्ला बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ चौतारा नजिक लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सोही आधारमा इलाका प्रहरी कार्यालय कोहलपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्कास्पद रूपमा हिँडिरहेका जिल्ला रुकुम पूर्व सिस्ने गाउँपालिका वडा नं. १ बस्ने ४३ वर्षीय कर्ण बहादुर बुढालाई खानतलासी गर्दा उनको साथबाट ९१० ग्राम अफिम फेला परेको थियो।

कर्ण बहादुर बुढामाथि थप अनुसन्धान गर्दा कोहलपुर नगरपालिका वडा नं. ६ स्थित डेरा गरी बस्ने वर्ष ६० को टोप जड भन्ने टाइप सिंह गिरीको संलग्नता खुल्न आएको थियो। प्रहरी उनको कोठामा नियन्त्रणमा लिन जाँदा टाइप सिंह गिरी जबरजस्ती भाग्न खोजेपछि प्रहरीले आत्मरक्षा तथा नियन्त्रणका लागि एक राउण्ड हवाई फायर गरेको थियो।

त्यसपश्चात उनको कोठा रितपूर्वक खानतलासी गर्दा फ्रिज भित्रबाट १३ किलो ६४ ग्राम अफिम (जम्मा १४ किलो ५४ ग्राम) र १४८ ग्राम लागुऔषध चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। साथै, घटनास्थलबाट १ थान डिजिटल तराजु र नगद ५,०००/- रुपैयाँ समेत बरामद भएको छ।

पक्राउ परेका दुवै जनाउपर लागुऔषधसम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x