बाँकेमा २४ घण्टाभित्र चार जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा बाँकेका दुई अस्पतालमा उपचारका क्रममा रहेका चार जना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार शनिबार बिहान ५ बजेदेखि आइतबार बिहान १ बजेसम्म नेपालगञ्ज मेडिकल कलेज कोहलपुर शिक्षण अस्पतालमा ३ जना र भेरी अस्पताल नेपालगञ्जमा एक गरेर ४ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको हो ।
जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा शनिवार विहान दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४, का ७० वर्षिय पुरुष, सोही दिउँसो दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८, का ७० वर्षिय पुरुष र साँझ नेपालगञ्ज २० की ६० वर्षिया महिला तथा भेरी अस्पतालमा आइतवार विहान कैलाली टीकापुर १ का ६० वर्षिय पुरुषको मृत्यु भएको बताउनुभयो ।
उहाँले मृत्यु भएका मध्ये ३ जनालाई बाहिरी जिल्लाबाट गम्भीर अवस्थामा रिफर गरेर बाँकेमा पठाईएको तथा एक जना नेपालगञ्जका संक्रमित रहेको बताउनुभयो ।
उनिहरु सबैको स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा भर्ना भएकोमा कोरोना परीक्षण गरिएपछि संक्रमण पुष्टि भएको थियो ।
उपचारको क्रममा रोगको प्रकृति अनुसार गरिनु पर्ने अक्सिजन, रेम्डेसिभर, एन्टिबायोटिक लगायतका सबै प्रकारको सपोर्टिभ उपचार गर्दागर्दै ती चार जनाको मृत्यु भएको जानकारी दुबै अस्पतालले गराएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
सो केन्द्रका अनुसार अझैपनि ती दुबै अस्पतालमा ३३ जना गम्भीर अवस्थाका संक्रमितको उपचार भैरहेको छ ।
जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका अनुसार कोरोनाबाट हालसम्म मृत्यु हुने बाँके जिल्लाका नागरिकको संख्या ३१ जना पुगेको छ भने बाहिरी जिल्लाबाट कोरोना उपचार गर्न बाँके आएर मृत्यु हुनेको संख्या २० पुगेको छ । गोरखापत्रअनलाइन बाट



