१२ आश्विन २०८३, सोमबार

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

एसीपी संवाददाता

१२ आश्विन २०८३, सोमबार १२:१५ मा प्रकाशित

नेपालगन्ज, असोज १२ — बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्षण प्रणालीलाई थप प्रभावकारी बनाउन स्थानीय बाल अधिकार समितिका सदस्यहरूको दुईदिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारी तथा प्लान इन्टरनेसनल नेपालको सहयोगमा सो तालिमको आयोजना गरिएको हो ।
समितिका सदस्यहरूको क्षमता मूल्याङ्कनबाट पहिचान भएका कमी तथा स्वीकृत क्षमता अभिवृद्धि योजनाका आधारमा तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

तालिमको मुख्य उद्देश्य स्थानीय बाल अधिकार समितिका सदस्यहरूको बाल अधिकार तथा बाल संरक्षणसम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्नुका साथै सम्बन्धित सरोकारवालाबीच समन्वयलाई सुदृढ बनाउनु रहेको थियो । त्यस्तै, स्थानीय तहमा बाल अधिकार तथा संरक्षणसम्बन्धी योजना निर्माण, कार्यान्वयन, अभिलेखीकरण, अनुगमन, सिफारिस तथा अनुगमनपछिको कार्यलाई प्रभावकारी बनाउने विषयमा समेत प्रशिक्षण दिइएको थियो ।

तालिमको पहिलो दिन राजापुर नगरपालिकाकी उपप्रमुख तथा बाल अधिकार समिति संयोजक मनकला कुमारी चौधरीले बालविवाह, लागुऔषध तथा मादक पदार्थको दुव्र्यसन, कुपोषण र विद्यालय छाड्ने समस्या बाल संरक्षणका प्रमुख चुनौतीका रूपमा रहेको बताउनुभयो ।

उहाँले बालबालिकाका लागि सुरक्षित, समावेशी र सहयोगी वातावरण निर्माण गर्न सबै सरोकारवालाबीच प्रभावकारी समन्वय, सामूहिक जिम्मेवारी र निरन्तर प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिनुभयो ।

त्यसैगरी, प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले बालबालिकालाई लागुऔषध तथा अन्य हानिकारक गतिविधिबाट जोगाउन उचित हेरचाह, सकारात्मक मार्गदर्शन र समयमै संरक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले जोखिममा रहेका बालबालिकाको पहिचान गरी आवश्यक सहयोग उपलब्ध गराउन तथा स्थानीय तहमा बाल संरक्षणका संयन्त्रलाई थप प्रभावकारी बनाउन सबै पक्षले सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो ।

तालिमको समापन कार्यक्रम राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, सल्लाहकार कमल पन्थी तथा सदस्य शंकरसिंह थारुसहित विभिन्न सरोकारवालाको सहभागिता थियो ।

समापन कार्यक्रममा उपप्रमुख तथा बाल अधिकार समिति संयोजक मनकला कुमारी चौधरीले बालबालिकामा गरिने लगानी परिवार, समुदाय र समग्र समाजको भविष्यमा गरिने दीर्घकालीन लगानी भएको बताउनुभयो ।

राधाकृष्ण थारु जनसेवा केन्द्रका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले स्थानीय बाल अधिकार समितिको स्थानीय बाल संरक्षण प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
तालिमको सहजीकरण बिनय दिल लामाले गर्नुभएको थियो भने बाँके युनेस्को क्लबका संरक्षण अधिकृत विजय शर्माले तालिमका उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।

कार्यक्रमको समग्र व्यवस्थापन तथा समन्वय सञ्जिता रिजालले गर्नुभएको थियो ।दुईदिने तालिममा सहभागी सरोकारवालाले स्थानीय बाल संरक्षण संयन्त्रलाई थप प्रभावकारी बाउँदै समन्वय, सहकार्य र जवाफदेहितालाई बलियो बनाउने प्रतिबद्धता जनाएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x