बिभिन्न देशका लागि तीन जना राजदूतको नाम अनुमोदन

संसदीय सुनुवाई समितिले बिभिन्न देशका लागि प्रस्तावित तीन जना राजदूतको नामसर्वसम्मत अनुमोदन गरेको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले सरकारले सिफारिस गरेका जर्मनीका लागि रामकाजी खड्का, बेल्जियम र युरोपियन युनियनका लागि गेहेन्द्र राजभण्डारी र पाकिस्तानका लागि तापस अधिकारीको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।
समितिले अनुमोदन गरेसंगै तीनै राजदूतले राष्ट्रपतिबाट नियुक्ति पाउने बाटो खुल्ला भएको छ । बैठकमा सभापति कर्णले सरकारले राजदूत सिफारिसमा समानुपातिक समावेशी सिद्धान्त अवलम्बन नगरेकामा भने विशेष ध्यानाकर्षण गराएको बताउनुभयो । यसअघि पनि राजदूत नियुक्तिमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा नियुक्ति गर्न निर्देशन दिएको भएपनि कार्यान्वयन नभएको उहाले बताउनुभयो ।
बैठकमा तीन जना राजदूतले मुलुकको हितका लागि काम गर्ने प्रतिबद्धता जनाएका थिए । राजभण्डारी, प्रस्तावित राजदूत, बेल्जियम र युरोपियन युनियन
प्रस्तावित राजदूतउपर ५ वटा उजुरी परेको थियो । उजुरीहरुमा समावेशीकरण र समानुपातिक नभएको उल्लेख गरिएको थियो । सरकारले राजदूतका लागि सिफारिस गरेपछि उनीहरुविरुद्ध सुनुवाई समितले भदौ १२ गते उजुरी आह्वान गरेको थियो ।


