७ आश्विन २०८३, बुधबार

भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सतर्क रहन YCL नेपालगन्जको अपिल

एसीपी संवाददाता

७ आश्विन २०८३, बुधबार २१:४३ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगन्ज, असोज ७ — योङ कम्युनिस्ट लिग (YCL) नेपाल, नेपालगन्ज उपमहानगरपालिका कमिटीले मौसममा हुनसक्ने भारी परिवर्तन तथा सम्भावित प्राकृतिक विपद्बाट जोगिन बाँकेबासीलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।

YCL नेपालगन्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष मो. सारिक सल्मानीले विज्ञप्ति जारी गर्दै जल तथा मौसम विज्ञानसम्बन्धी पूर्वानुमानलाई मध्यनजर गर्दै असोज ८ गतेदेखि ११ गतेसम्म विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्।

मौसममा आएको परिवर्तनका कारण उक्त अवधिमा वर्षा हुनसक्ने सम्भावना रहेकाले बाढी, डुबान तथा अन्य प्राकृतिक जोखिमबाट सुरक्षित रहन आम नागरिकलाई अपिल गरिएको विज्ञप्तिमा उल्लेख छ।

कमिटीले अत्यावश्यक कामबाहेक अनावश्यक यात्रा तथा हिँडडुल नगर्न, जोखिमयुक्त सडक तथा पुलमा यात्रा नगर्न र नदी, खोला तथा जलमग्न क्षेत्रको आसपास नजान आग्रह गरेको छ। विशेषगरी बाढी तथा डुबानको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।

त्यस्तै, बालबालिका, ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिहरूको विशेष ख्याल गर्न पनि YCL नेपालगन्जले आग्रह गरेको छ। विपद्को अवस्था सिर्जना भएमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गर्ने सूचना र निर्देशन पालना गर्न कमिटीले अनुरोध गरेको छ।

आपत्कालीन अवस्था आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सामग्री तथा उद्धारका लागि पूर्वतयारी अवस्थामा रहनसमेत आग्रह गरिएको छ।

YCL नेपालगन्ज उपमहानगरपालिका कमिटीले सम्भावित प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबै नागरिक सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै “सतर्क रहौँ, सुरक्षित रहौँ” भन्ने सन्देशसहित सम्पूर्ण बाँकेबासीलाई उच्च सावधानी अपनाउन हार्दिक अपिल गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x