१२ असार २०८३, शुक्रबार

भेरी अस्पतालले रक्तदान गर्न आव्हान

एसीपी संवाददाता

१८ भाद्र २०७७, बिहीबार ०५:१३ मा प्रकाशित

भेरी अस्पताल नेपालगन्जले कोरोना संक्रमणबाट निको भएकाहरुलाई रक्तदान गर्न आव्हान गरेको छ । कोरोना संक्रमणबाट गम्भीर विरामी भएकाहरुलाइ प्लाज्मा थेरापीबाट उपचार गरेर उनीहरुको ज्यान जोगाउन सकिने भएकाले संक्रमण भएर निको भएकाहरुलाई रक्तदान गरेर सहयोग गर्न आव्हान गरेको हो ।

संक्रमणबाट निको भएकाहरुको ब्लड कलेक्सनका लागि समन्वय गर्दै आएका भेरी अस्पतालका स्वास्थ्यकर्मी होमनाथ सुवेदीले प्लाज्मा थेरापीका लागि संक्रमणबाट निको भएकाहरुकै ब्लड आवश्यक पर्ने भएकाले मानवीय सहयोगका निमित्त उनीहरुलाई रक्तदान गर्न आव्हान गरिएको बताउनुभयो । कोरोना भाइरस संक्रमण पुष्टि भएको २८ दिन पछि रक्तदान गर्न सकिने उहाँको भनाइ छ । संक्रमणबाट निको भएकाहरुको एन्डिबडी बनिसकेपछि रक्तदान गर्न सक्ने भन्दै उहाँले २८ दिन पछि र तीन महिनाभित्र इच्छुक व्यक्तिले रक्तदान गर्न सक्ने उहाँको भनाइ छ ।

बाँकेमा अहिलेसम्म तीनजनाले रक्तदान गरिसक्नु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का वडाअध्यक्ष प्रमोद रिजाल, आन्तरिक राजश्व कार्यालयका अधिकृत खडान्नद पाण्डे र रामराज चौधरीले रक्तदान गरिसक्नुभएको छ । रिजालको ब्लड प्रयोग भइसकेको छ भने पाण्डेको ब्लड नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बुक गरिसकेको छ । चौधरीको ब्लड भने रक्तसंचार केन्द्रमा स्टक छ । ‘तपाईको सानो सहयोगले पनि कोरोनाका गम्भीर विरामीको ज्यान जोगिन सक्छ भेरी अस्पतालका सिनियर अहेव समेत रहनुभएका सुवेदीले भन्नुभयो –‘मेरो आग्रह छ मानवीय सेवामा सहकार्य गरिदिनुहोस् ।’

कोरोना संक्रमणबाट निको भएका १८ बर्षदेखि ५० बर्ष उमेर समूहका व्यक्तिहरुले रक्तदान गर्न सक्ने छन् । संक्रमण भएको १४ दिन आइसोलेसनमै बस्नु पर्ने र त्यहाँबाट फर्किसकेपछि थप कम्तिमा १२ देखि १४ दिनसम्म भाइरससँग लड्ने एन्टिबडी बन्न समय लाग्ने चिकित्सकहरु बताउँछन् ।

रक्तदान गर्ने ती रक्तदाताहरुको सुरुमा पीसीआर परीक्षण गरेर कोरोना नेगेटिभ आएमात्र ब्लड तान्ने गरिन्छ । तर फेरि भाइरस संक्रमण पोजेटिभ देखिए उहाँहरु आइसोलेसनमा बस्न नपर्ने सुवेदीको भनाइ छ । बाँकेमा कोरोना संक्रमणबाट निको भएकाहरुको संख्या विहीबारसम्म ७ सय ८३ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x