६ जेष्ठ २०८३, बुधबार

रसुवागढीमा पहिरोले फेरी बाटो अवरुद्ध तातोपानी नाका बन्द पुस–माघमा किनेको सामान केरुङमै,थन्किए

एसीपी संवाददाता

१४ आश्विन २०७७, बुधबार ०५:२० मा प्रकाशित

फाइल तस्बिर

रसुवाबाट यो अवधिमा मुस्किलले १५ कन्टेनर सामान राजधानी भित्रिएको छ । यातायातका साधनको आउजाउ ठप्प हुने गरी नाकानजिकै केरुङ सडकमा चार दिनअघि पहिरो गएको छ । एक महिनादेखि बन्द तातोपानी नाका सञ्चालनमै आएको छैन ।

चिनियाँ दूतावासले रसुवागढी र तातोपानी नाका खुलेको घोषणा गरेको एक साता बिते पनि नेपाली व्यवसायीले सहज रूपमा सामान आयात गर्न पाएका छैनन् । रसुवाबाट यो अवधिमा मुस्किलले १५ कन्टेनर सामान राजधानी भित्रिएको छ । यातायातका साधनको आउजाउ ठप्प हुने गरी नाकानजिकै केरुङ सडकमा चार दिनअघि पहिरो गएको छ । एक महिनादेखि बन्द तातोपानी नाका सञ्चालनमै आएको छैन ।

तस्बिर ईकान्तिपुर

नेपाल–चीन सीमाको तातोपानीस्थित मितेरी पुलमा मंगलबार सिन्धुपाल्चोक र तिब्बतको ल्हासा प्रशासनका अधिकारीबीच भएको बैठक । मितेरी पुलको रेड लाइट (सीमा रेखा) बाट उता चिनियाँ र यता नेपाली अधिकारी बैठकमा सहभागी भएका थिए । तस्बिर सौजन्य : तातोपानी भन्सार कार्यालय 

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सियओलङले नेपाललाई मेडिकल लगायतका सामग्रीको आवश्यकतालाई ख्याल गरेर एकतर्फी रूपमा दुवै भन्सार नाका खुलाएको वक्तव्य दिएका थिए । सीमा प्रशासनका नेपाली अधिकारीसँग मंगलबार मितेरी पुलमा भएको बैठकमा ल्हासा प्रशासनबाट आएका चिनियाँ अधिकारीहरूले तातोपानी नाका स्वास्थ्य मापदण्ड अपनाएर सातापछि खुल्ने जानकारी गराएका छन् । तातोपानीबाट करिब ९ किमि टाढा खासामा डेढ सय कन्टेनर सामान ६ महिनादेखि थन्केका छन् । भूकम्पपछि चीनले यो नाका चार वर्ष बन्द गरेको थियो । पाँच वर्षदेखि तातोपानीबाट सर्वसाधारणको आउजाउ पूर्ण रूपमा बन्द छ ।

रसुवागढी नाका खुलेको भनिए पनि सहज रूपमा व्यापार हुने परिस्थिति नबनेपछि व्यापारीले दसैंका लागि झिकाएका चिनियाँ सामान बजार पुर्‍याउन नसक्ने भएका छन् । केरुङमा सयौं कन्टेनर सामान गोदाम गरिए पनि चीनले दिनमा १०–१२ कन्टेनर मात्र रसुवागढी ल्याइदिने गरेको छ । यो दरले भित्र्याउँदा केरुङमा रहेको सामान आइपुग्न महिनौं लाग्ने व्यवसायीको गुनासो छ । गोदाम र बाटैमा अलपत्र अर्बौंका सामान ल्याउन नसक्दा व्यवसायी उठ्नै नसक्ने गरी थला परेको नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलको भनाइ छ ।

रसुवागढी नाका नजिकैको केरुङ सडकमा गएको पहिरो पन्छाउन अझै कम्तीमा दुई दिन लाग्ने चिनियाँ पक्षले जानकारी दिएको रसुवागढी भन्सार प्रमुख पुण्यविक्रम खड्काले बताए । ‘पारिपट्टि पहिरो ठूलो गएको वारिबाटै देख्छौं,’ उनले भने, ‘उनीहरूले सकभर छिट्टै खुलाउन प्रयास गरिरहेको जानकारी दिएका छन् ।’ खड्काका अनुसार रसुवा प्रशासन र चिनियाँ अधिकारीहरूबीच बुधबार मितेरी पुलमा बैठक बस्दै छ । नेपाली व्यवसायीले ९ महिनाअघि खरिद गरेका १२ सय कन्टेनर सामान केरुङका गोदाममा थन्किएका छन् । सीमामा कोभिड संक्रमण बढ्ने त्रासले चिनियाँले नेपाली कन्टेनर प्रवेश गर्न दिएका छैनन् । उनीहरूले आफ्नै कन्टेनरबाट सीमित सामान ल्याइदिन्छन् । तर सडक नै अवरुद्ध भएपछि व्यवसायीले दसैंअगाडि नेपाली बजारमा सामान बेच्न मुस्किल पर्ने भएको छ ।

व्यवसायीका अनुसार दसैंलक्षित सामान उपत्यकाबाहिर कम्तीमा १५ दिनअगावै पठाउनुपर्छ । राजधानीलगायत बजारमा निम्न र मध्यम वर्गका नागरिकले प्रयोग गर्ने तयारी पोसाकलगायत सामान यिनै नाकाबाट भित्र्याइन्छ । नेपाली व्यवसायीले गत पुसयता किनेका सामान केरुङबाट ल्याउन सकेका छैनन् । किनेका सामान उत्तरी सीमामा ल्याउने प्रक्रिया मिलाउँदामिलाउँदै व्यापार गर्ने समय गुज्रेको वाणिज्य संघका अध्यक्ष पौडेल बताउँछन् । ‘सीमामा केही न केही विषय उठी नै रहने भएकाले बैठक गरेरै दसैं आउने भयो,’ उनले भने । रसुवागढीमा एक नेपाली मजदुरलाई कोरोना पोजिटिभ देखिएपछि चीनले नाका बन्द गरिदिएको थियो । परराष्ट्र मन्त्रालयले चीनस्थित नेपाली राजदूतमार्फत पहल गरेर व्यापार सञ्चालन गर्ने सहमति भएको थियो । चिनियाँ दूतावासले गत ७ गते वक्तव्य निकालेकै दिन बीसीजी खोपको सिरिन्ज बोकेका कन्टेनर रसुवागढीमा ल्याइएको थियो । चिनियाँ अधिकारीहरूले रसुवामै पीसीआर मेसिन राखेर सीमा क्षेत्रका कामदार र कर्मचारीको कोरोना परीक्षणको व्यवस्था मिलाउन अनुरोध गर्दै आएका छन् । संक्रमण नभएको निश्चित भएपछि आफूहरूलाई नेपालतर्फ सामान पठाउन सहज हुने उनीहरूको भनाइ छ । भन्सार स्रोतका अनुसार चीनले राखेको उक्त प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पुगेको छ । प्रस्तावबारे छलफल भइरहेको स्रोतले जनायो ।

भारतको बाटो हुँदै समुद्रबाट ल्याइएका चिनियाँ सामानले अहिलेको बजार थेगिरहेको व्यवसायी बताउँछन् । चीनबाट मुख्य गरी केरुङ र तातोपानी नाका सञ्चालन हुने सूचनाका आधारमा व्यवसायीले सडकबाट सामान ल्याउन अर्डर गरेका थिए । सामान बाटोमा आएपछि नाका बन्द हुँदा बढी समस्यामा परेको रञ्जना व्यापार मलका व्यवसायी बलराम पराजुलीले बताए । ‘पहिले सडकबाट सामान नआउने अवस्था आउँदा भारत हुँदै र जहाजबाट पनि ल्याउने गरिन्थ्यो,’ उनले भने, ‘अहिले व्यवसायी जताततै लगानी गर्न सक्ने अवस्थामै छैनन् ।’ चिनियाँ नाकाबाट सामान भित्र्याउन नसक्दा पसलहरू खाली हुने अवस्था रहेको सुन्धारास्थित पिपल्स प्लाजाका सञ्चालक रमेशकुमार श्रेष्ठले बताए । ‘एकातिर यो वर्ष कोभिडका कारण व्यापार नै धेरै कम छ, त्यसमा पनि उपभोक्ताले रोजेको सामान पाउने अवस्था भएन । राजधानीबाहिर पठाउनुपर्ने सामान अहिलेसम्म भित्रिएको छैन,’ उनले भने ।

चीनबाट मुख्यतः तयारी पोसाक, जुत्ता, चप्पल, ब्याग, खेलौना, फर्निचर, मेसिनरी सामान, कम्प्युटर पार्ट्स, गार्मेन्टका कच्चापदार्थ, इलोक्ट्रोनिक, स्टेसनरी सामान, स्याउ, प्याज, लसुन, बीउबिजन ल्याइने गरेको छ । पछिल्लो समय कोभिड–१९ संक्रमणको रोकथाम र उपचारमा प्रयोग हुने प्रायः स्वास्थ्य सामग्री चीनबाट ल्याइएका छन् । कोभिड–१९ संक्रमण फैलन थालेपछि बन्द गरिएको तातोपानी नाका स्वास्थ्य सामग्री पठाउनैका लागि गत चैतमा चीनले खोलेको थियो ।

भन्सार विभागका अनुसार आर्थिक वर्ष ०७६/७७ मा चीन, भारतलगायत मुलुकबाट करिब १२ खर्ब रुपैयाँको सामान आयात भएको छ । चीनबाट मात्र बर्सेनि सरदर १ खर्ब ८२ अर्बको सामान भित्र्याउन गरिएको छ । चीनसँगको निर्यात व्यापार भने सरदर १ अर्ब १९ करोड छ । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार चीनसँगको व्यापारबाट संकलन हुने कुल राजस्वमा रसुवा र तातोपानीको योगदान १५ देखि २० प्रतिशत छ । तातोपानीबाट ०७२ वैशाखदेखि निर्यात ठप्प छ । रसुवाबाट ०७२ मंसिरदेखि आंशिक निर्यात भए पनि एक वर्षयता ठप्प छ । आर्थिक वर्ष ०७१/७२ मा तातोपानी नाका भएर २ अर्ब ३४ करोडको निर्यात व्यापार भएको थियो ।

खासाको सामान १९ गतेदेखि मितेरी पुलमा

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार चिनियाँ अधिकारीहरूले खासा गोदाममा रहेको सामान १९ गतेदेखि मितेरी पुलमा ल्याउने बताएका छन् । ‘नाका सञ्चालन गर्न तातोपानी भन्सार हातामा भएको तयारी बुझ्न ल्हासा प्रशासनबाट टोली आएको थियो । टोलीले १८ गतेदेखि भन्सारको काम सुरु गर्ने र सामान १९ गते मितेरी पुलमा ल्याउने जानकारी दिएको छ,’ ढकालले भने ।

तिब्बतको नेलाम काउन्टी (स्थानीय प्रशासन) ले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने सम्भावना भएकाले तातोपानीबाट कारोबार नगर्न भन्दै आफ्ना नागरिकलाई आन्तरिक सूचना जारी गरेपछि नाका ठप्प भएको थियो । चिनियाँले सीमामा रहेर भन्सारको काममा सहभागी हुने थप लोडर र चालकको पीसीआर परीक्षण गर्ने ढकालले बताए । उनीहरूले यही साता २८ जना लोडर र चालकको पीसीआर परीक्षण गराएका थिए । चिनियाँले दुई समूह बनाएर काम गर्न अरू थप लोडर र चालकको पनि परीक्षण गर्ने वचन दिएको ढकालले जानकारी दिए ।

खासाबाट ल्याइएको सामान मितेरी पुलमा खसालेपछि चिनियाँ फर्कने गरेका छन् । उनीहरू फर्केपछि नेपाली चालक र लोडरले ती सामान अनलोड गरेर लार्चास्थित सुक्खा बन्दरगाहमा ल्याउने तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताए । नेपाली अधिकारीहरूले स्याउ, लसुन, प्याज, अदुवालगायत छिट्टै कुहिने र खेर जाने वस्तुको कन्टेनर भने भन्सार यार्डसम्म ल्याइदिने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।सभार – ईकान्तिपुरका ऋषिराम पौड्यालले समाचार लेखेका छन्

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
trackback

[…] रसुवागढीमा पहिरोले फेरी बाटो अवरुद्ध… […]

1
0
Would love your thoughts, please comment.x
()
x