२ श्रावण २०८३, शनिबार

राज्यको चार अर्ब खर्च नेता र पहुँचवालाको उपचारमा

एसीपी संवाददाता

१७ कार्तिक २०७७, सोमबार ०१:४३ मा प्रकाशित

अर्थ मन्त्रालयको तथ्यांकअनुसार ०६२-६३ पछि एक दशकभित्र राज्यले पहुँचवालाको उपचारमा तीन अर्ब ८८ करोड नौ लाख ७६ हजार रुपैयाँ खर्च गरेको छ । ‘यो रकम खर्च भएको भए नेपालमा एउटा स्तरीय अस्पताल खोल्न सकिन्थ्यो जहाँ नेता तथा जनताको निःशुल्क उपचार गर्न सकिन्थ्यो,’ स्वास्थ्य मन्त्रालयका एक अधिकारी भन्छन्, ‘तर, ठूलाबडाको ध्यान विदेशमै उपचार गर्ने भन्ने छ, त्यसैले पैसा विदेश गएको छ, देशको स्वास्थ्य सेवा पछाडि परेको छ ।’

उपचारका लागि राज्यकोषबाट सबैभन्दा बढी रकम लिनेमा पूर्वप्रधानमन्त्री तथा कांग्रेसका पूर्वसभापति दिवंगत सुशील कोइराला पर्छन् । उनको उपचारका लागि राज्यले नौपटक गरेर एक करोड ८७ लाख १७ हजार नौ सय ७४ रुपैयाँ खर्च गरेको थियो । 

पूर्वराष्ट्रपति डा. रामवरण यादव उपचारका लागि अमेरिका र भारत जाँदा राज्यकोषबाट एक करोड ४० लाख रुपैयाँ खर्च भएको छ । यादव अमेरिका जाँदा उपचार खर्च मात्र होइन, तीनजनाका लागि आतेजाते हवाईभाडा, होटेल खर्च, डा. यादवलाई दैनिक तीन सय र सहयोगीलाई दैनिक डेढ सय डलर पनि राज्यकोषबाट नै खर्च भएको थियो । अझ राष्ट्रपति भएका वेला उपचारका लागि जापान पनि गएका थिए । विशिष्ट पदमा भएको व्यक्तिको उपचारका लागि विदेश जाँदा सहायता नभएर राज्यको दायित्वका रूपमा खर्च हुने गरेको छ ।

उपचारका लागि राज्यबाट ठूलो रकम लिनेमा पर्छन् वर्तमान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली । अर्थ मन्त्रालयको रिपोर्टअनुसार उनको उपचारका लागि ०७३ सम्म मात्र राज्यले एक करोड २६ लाख ३५ हजार एक सय ३७ रुपैयाँ खर्च गरेको थियो । त्यसयता पनि उनी पटक–पटक सिंगापुर गएका छन् । पछिल्लोपटक गत वर्ष सिंगापुर जाँदा भने उनले हवाई खर्चबाहेकको रकम आफैँ व्यहोर्ने घोषणा गरेका थिए । 

कांग्रेस नेतृ सुजाता कोइराला पनि आर्थिक रूपमा विपन्न होइनन्, तर उनको उपचारमा पनि राज्यले ५० लाख खर्च गरेको छ । पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले कोषबाट १५ लाख ८४ हजार सहयोग लिएका थिए । जब कि नवलपरासीका जमिनदार कँडेलको नाममा भारतमा पनि करोडौंँको सम्पत्ति छ । 

त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोलाको उपचारमा पनि राज्यकोषबाट ५० लाख खर्च भएको छ । पूर्वउपराष्ट्रपति परमानन्द झाको उपचारमा राज्यले नौ लाख ३० हजार एक सय १२ रुपैयाँ खर्च गरेको छ । 

शाही मन्त्रिपरिषद्का उपाध्यक्ष तुल्सी गिरीलाई पनि लोकतान्त्रिक व्यवस्थाले २० लाख रुपैयाँ आर्थिक सहायता दिएको छ । त्यस्तै, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पाँच लाख सहायता पाएका छन् । 

त्यति मात्र होइन, भ्रष्टाचार आरोपमा जेल गएका खुमबहादुर खड्कालाई पनि सरकारले २० लाख रुपैयाँ दिएको थियो । त्यस्तै, पूर्वगृहमन्त्री गोविन्दराज जोशीले पनि राज्यकोषबाट २७ लाख ८० हजार रुपैयाँ खर्च पाएका छन् । भ्रष्टाचार अभियोगमा उनको मुद्दा सर्वोच्चमा छ ।

पहिलो संविधानसभाकी उपाध्यक्ष पूर्णाकुमारी सुवेदीको छोराको उपचारमा राज्यकोषबाट ४० लाख खर्च भएको थियो । पूर्वसांसद रामनाथ ढकालको उपचारमा पनि सरकारले १७ लाख १८ हजार खर्च गरेको थियो । 

‘नागरिक राहत, क्षतिपूर्ति तथा आर्थिक सहायतासम्बन्धी कार्यविधि, २०७१’ मा आठ प्रकारका जटिल रोग लागेका नागरिकलाई एक लाख रुपैयाँसम्मको आर्थिक सहायता दिने उल्लेख छ । मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर्स, पार्किसन्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेलका बिरामी सहायताका लागि दाबेदार हुन् । तर, उपचारमा जति रकम लागे पनि नागरिकले बढीमा एक लाख रुपैयाँको सहायता पाउँछन्, तर नेताले भने एकैजनाले दुई करोडसम्म लिएका छन् ।साभार नयाँपत्रिकाबाट कार्तिक १७ प्रकाशित गरेको

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x