८ आश्विन २०८३, बिहीबार

विपद् प्रतिकार्य, उद्धार र राहत व्यवस्थापनका लागि सबै निकायलाई सक्रिय बन्न जिल्ला प्रशासन कार्यालयको निर्देशन

एसीपी संवाददाता

८ आश्विन २०८३, बिहीबार २२:१८ मा प्रकाशित

नेपालगन्ज – जिल्ला प्रशासन कार्यालयले सम्भावित बाढी, डुबान, कटान र पहिरोको जोखिमलाई मध्यनजर गर्दै विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि सम्पूर्ण निकायहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङद्वारा जारी निर्णयहरूमा विपद्बाट हुनसक्ने जनधनको क्षति रोक्न विभिन्न महत्वपूर्ण बुँदाहरू समेटिएका छन्।  

मौसम पूर्वानुमान पालना: जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी हुने मौसम पूर्वानुमान तथा विपद् सम्बन्धी ‘Advisory’ (सल्लाह/सूचना) अनिवार्य रूपमा पालना गरी प्रचारप्रसार तथा सचेतना फैलाउन सबै सरोकारवाला निकायलाई भनिएको छ।

जोखिमयुक्त बस्तीको व्यवस्थापन: सबै स्थानीय तह र विषयगत कार्यालयहरूले बाढी, डुबान, कटान र पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूको विश्लेषण गरी सुरक्षित आश्रय स्थल, खुला ठाउँको प्रबन्ध मिलाउनुका साथै सडक अवरुद्ध हुन नदिन आवश्यक उपकरणहरू तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ।

सुरक्षा निकाय तयारी: विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी, र सशस्त्र प्रहरी बलले आपत्कालीन प्रतिकार्य टोली (QRT/RRT) लाई पूर्ण तयारी अवस्थामा राख्नेछन्।  

सरोकारवाला संघसंस्थाको समन्वय: नेपाल रेडक्रस सोसाइटी लगायत विपद् क्षेत्रमा कृयाशील गैरसरकारी संघसंस्थाले विपद् प्रतिकार्य, उद्धार र राहत व्यवस्थापनसम्बन्धी कार्यहरू जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र अगाडि बढाउनेछन्।  

अत्यावश्यक सेवा सुचारु: विद्युत, खानेपानी, र दूरसञ्चार जस्ता अत्यावश्यक सेवाहरू अवरुद्ध हुन नदिन सम्बन्धित निकायहरूलाई जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न भनिएको छ।

सञ्चार माध्यमको सहयोग: विपद् सम्बन्धी सूचना र सतर्कताका सन्देशहरू आम सर्वसाधारणसम्म पुर्‍याउन सञ्चार माध्यमहरूले विशेष सहयोग गर्नेछन्।  

जिल्ला प्रशासन कार्यालयले विपद्को समयमा आइपर्ने जुनसुकै आपत्कालीन अवस्थाको सामना गर्न र नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न सबैलाई एकजुट भई लाग्न आग्रह गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x