विश्व वातावरण दिवस २०२५ “प्लास्टिक प्रदूषणलाई पराजित गरौं” भन्ने नाराका साथ कार्यक्रम सम्पन्न
विश्व वातावरण दिवस २०२५ “प्लास्टिक प्रदूषणलाई पराजित गरौं” भन्ने नाराका साथ विश्वभर मनाइँदैछ, जसले प्लास्टिक फोहोरको बढ्दो समस्यालाई सम्बोधन गर्नुपर्ने तत्काल आवश्यकता औँल्याएको छ। प्लास्टिक प्रदूषणले पारिस्थितिकी तन्त्र, वन्यजन्तु तथा मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ। पानीका स्रोतहरूमा मात्र होइन, मानव शरीरभित्र समेत माइक्रोप्लास्टिक पाइएको छ। यस वर्षको अभियानले एकपटक प्रयोग गरिने प्लास्टिकको प्रयोग घटाउने, पुन: प्रयोग तथा रिसाइक्लिङ अभ्यासलाई प्रवर्द्धन गर्ने, र दीगो प्लास्टिक व्यवस्थापन नीतिहरू कार्यान्वयन गर्ने सन्देश दिन्छ।
यस अवसरमा बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. ८ मा वृक्षारोपण तथा सरसफाइ अभियान आयोजना गरियो। कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका मेयर श्री तिलकराम लम्साल, उप–मेयर श्रीमती बिनाकुमारी भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्री नारायण पौडेल, वडा अध्यक्ष श्री टेकबहादुर बडुवाल, वडा सदस्यहरू, नगरपालिका कर्मचारी, पर्यटन व्यवसायी, शिक्षक, विद्यार्थी तथा स्थानिय समुदायको उत्साहजनक सहभागिता रहेको थियो।
यो अभियान ग्रीन इकोनोमी परियोजना अन्तर्गत ठाकुरबाबा नगरपालिका, बाँके युनेस्को क्लब, तथा प्लान इन्टरनेशनल नेपाल को सहकार्यमा सम्पन्न भएको हो, जसमा युवा महिलाहरूको सक्रिय सहभागिता तथा समान सोच भएका विभिन्न संस्थाहरूको साथ रह्यो।
समापन मन्तव्यमा मेयर श्री तिलकराम लम्सालले प्लास्टिक प्रदूषणलाई हाम्रो युगको एक प्रमुख चुनौतीको रूपमा वर्णन गर्दै प्लास्टिक सस्तो र सजिलो भए पनि यसको कुशल पुन: प्रयोग प्रविधिको अभावले यो पर्यावरणीय संकटमा परिणत भएको बताउनुभयो। उहाँले कागज वा कपडाका झोलाको प्रयोग जस्ता विकल्पहरू अपनाउन सबैलाई आग्रह गर्नुका साथै, प्लास्टिक प्रदूषण विरुद्ध साझा प्रयास र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
विश्व वातावरण दिवस २०२५ ले सबै व्यक्तिहरू, समुदायहरू तथा सरकारहरूलाई एकजुट भई स्वच्छ, स्वस्थ, र दीगो ग्रह निर्माणका लागि निर्णायक कदम चाल्न प्रेरणा प्रदान गर्दछ।




