वीरगन्जमा राष्ट्रिय एकता दलको विरोध प्रदर्शन: ‘सीमामा ५०० को मापदण्ड खारेज गर’
नेपाल–भारत सीमा क्षेत्रका सर्वसाधारण र किसानहरूले भोग्नुपरेको समस्यालाई लिएर राष्ट्रिय एकता दल वीरगन्जले आज वीरगन्जको घण्टाघरस्थित मुख्य चोकमा विरोध प्रदर्शन गरेको छ। सीमा क्षेत्रमा लागू गरिएको ५०० रुपैयाँको मापदण्ड खारेज गर्नुपर्ने मुख्य मागसहित दलका नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएका हुन्।
दलका नेताद्वय रविन्द्र यादव र अकलेश कुशवाहाको नेतृत्वमा भएको उक्त प्रदर्शनमा सहभागीहरूले सरकार विरोधी तथा गरिब र किसानका पक्षमा विभिन्न नाराहरू अंकित ब्यानर र प्लेकार्ड बोकेका थिए।प्रदर्शनमा सीमामा ५०० को नियम हटाऊ, गरिबको हक अधिकार बचाऊ!,एयरपोर्टमा सुन–रक्सी छुट, गरिबको चामल किन जाँच कुट?,
सीमानाका किसानलाई मल देऊ, उनको श्रमको सम्मान गर देऊ!नेपाल–भारत सीमामा अन्याय बन्द गर, गरीबमाथि दुर्व्यवहार अन्त गर!सीमानाका जनताको अधिकार सुनिश्चित गर, राज्यले अब जिम्मेवारी पूरा गर! मानव अधिकारको रक्षा गर, दमन होइन, न्याय देऊ सरकार!प्रदर्शनकारीहरुले नारा लगाएका छन।
उक्त विरोध प्रदर्शनको व्यवस्थापन तथा समायोजन दलका युवा नेता लालबाबू रामले गरेका थिए। प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै नेताहरू ओमबाबू यादव, अकलेश कुशवाहा र रविन्द्र यादव लगायतले सीमा क्षेत्रका सर्वसाधारण र किसानमाथि राज्यले विभेद गरिरहेको आरोप लगाए।
वक्ताहरूले ठूला व्यापारी र तस्करी गर्नेहरूलाई छुट हुने तर दैनिक जीविकोपार्जनका लागि सीमापारिबाट सानोतिनो सामान ल्याउने सर्वसाधारण र गरिब जनतालाई ५०० को नियम लगाएर दुःख दिने काम बन्द गर्न सरकारसँग जोडदार माग गरे। साथै, किसानहरूले समयमा मल र बीउ नपाउने समस्यालाई तत्काल समाधान गरी दलको मागलाई सरकारले अविलम्ब सम्बोधन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।



