२२ आश्विन २०८३, बिहीबार

सरकारको अकर्मण्यताविरूद्ध सडकमा ओर्लन बाध्य काङ्ग्रेस

एसीपी संवाददाता

२६ मंसिर २०७७, शुक्रबार ११:४९ मा प्रकाशित

सरकारको अकर्मण्यताविरूद्ध सडकमा ओर्लन लागेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सबै तयारी पूरा गरेको जनाएको छ ।

यही मंसिर २९ गते सोमबार गरिने देशव्यापी सडक प्रदर्शनका लागि नेताहरुलाई विभिन्न जिल्लाको जिम्मेवारी तोकिएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने जानकारी दिनुभयो । उहाँका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं मै सहभागिता जनाउनुहुन्छ ।

आफ्नो गृहजिल्ला तनहुँमा गत मंसिर १७ गते पुल उद्घाटन गर्न पुग्दा प्रहरी प्रशासनले रोक लगाएर पौडेललाई प्रहरी हिरासतमा समेत लिएपछि आक्रोशित बनेको कांग्रेसले आउँदो सोमबार सरकारविरुद्ध देशैभरी प्रदर्शन गर्न लागेको हो ।

यसैगरी, उपसभापति विमलेन्द्र निधि भक्तपुर, महामन्त्री शशांक कोइराला विराटनगर, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको कार्यक्रमको नेतृत्व गर्नुहुनेछ ।

सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषा पुग्दा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरी, नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरामा हुने कार्यक्रममा सहभागी हुनुहुनेछ ।

यसैगरी, केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउदले अछामबाट सरकारले गरेका जनविरोधी कामविरुद्ध शंखघोष गर्नुहुने कांग्रेसले जनाएको छ ।

ओली नेतृत्वको नेकपा सरकार भ्रष्टाचारमा लिप्त रहेको, कोरोना महामारी नियन्त्रण गर्न नसकेको आरोप पनि कांग्रेसले लगाइरहेको छ ।

पछिल्लो समय राजावादीहरूले देशका विभिन्न शहरमा प्रदर्शन गरेपछि झस्किएको कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा नारा लगाउन विभिन्न नारा नै तय पनि गरेको छ ।

नारामा ‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन, सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ जस्ता विषय समेटिएका छन् । इमेजखबर बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x