१५ भाद्र २०८३, सोमबार

सर्लाहीमा बीपी कोइरालाको ४३औँ स्मृति दिवस मनाइयो, नेता सिंहद्वारा योगदानको स्मरण

एसीपी संवाददाता

७ श्रावण २०८२, मंगलवार १९:५८ मा प्रकाशित

श्रावन ६ गते  –  सर्लाही । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ४३औँ स्मृति दिवस आज सर्लाहीमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

नेपाली कांग्रेस सर्लाही जिल्लाको बसबरिया गाउँपालिकाद्वारा पार्टी कार्यालय भवानीपुरमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले बीपीको योगदानको स्मरण गरेका हुन् ।

पार्टी सभापती लालबाबु महतोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशका नेपाली कांग्रेस उपसभापति एवं संगठन विभाग प्रमुख तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंह प्रमुख अतिथिका रूपमा उपस्थित थिए । नेता सिंहले बीपीको तस्बिरमा माल्यार्पण गर्दै नेपालमा प्रजातन्त्र स्थापनाका लागि उनले गरेको कठोर संघर्षको स्मरण गरे ।

‘विसं २०३९ साउन ६ गते निधन हुनुभएका बीपी कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पुर्‍याउनुभयो,’ नेता सिंहले भने, ‘उहाँ नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याउने एक महान् व्यक्तित्व हुनुहुन्थ्यो ।’ विसं १९७१ भदौ २४ गते जन्मिएका कोइराला विसं २०१५ को संसदीय निर्वाचनपछि विसं २०१६ जेठमा नेपालका पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिट्लर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ र ‘बाबु, आमा र छोरा’ गरी छवटा उपन्यास प्रकाशित छन् । उनका ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’ नामक दुई कथा सङ्ग्रह पनि छन् ।

उक्त अवसरमा पूर्व गाउँपालिका अध्यक्ष राम अयोध्या यादव, महासमिति सदस्य राम बाबु राय, युवा नेता गजेन्द्र साह लगायतका नेताहरूको सहभागिता रहेको प्रचार प्रसार विभाग मधेश प्रदेशका सचिव निकेश त्रिपाठीले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x